हेटौंडाको वडा नम्बर ४ डेंगु संक्रमणको उच्च जोखिममा
३० असार, हेटौँडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ डेंगु संक्रमणको उच्च जोखिममा रहेको देखिएको छ ।
बागमती प्रदेशको स्वास्थ्य निर्देशनालयले आइतबार एकीकृत सर्भे अन्तर्गत डेगीँ भेक्टरको सर्भे सार्वजनिक गर्दै वडा नम्बर ४ डेंगु संक्रमणको उच्च जोखिममा रहेको देखाएको हो । निर्देशनालयले हुप्रचौर, चिल्ड्रेन पार्क, खोपेगल्ली प्रतिभानगर लगायत ९ स्थानका १ सय ६ घरमा गरेको डेगुँ भेक्टर सर्भे अनुसार ७७ घरमा एडिस जातको लामखेट्टेको लार्भा र प्यूपा पाइएको हो । नमूना संकलनका क्रममा १५१ दशलमब ८८ प्रतिशत (प्रतिसय) घरहरुमा डेंगु सङ्क्रमण गराउने लामखुट्टेको लार्भा प्यूपा भेटिएको निर्देशनालयकी इन्टोमोलोजिस्ट रिता बडुले बताउनुभयो । घर वरपर रहेका टायर, ड्रम, फूलदानी लगायतमा जमेको पानीलाई नमूना संकलनका लागि प्रयोग गरिएको थियो ।
यस क्रममा सबैभन्दा बढी गाडीको टायरमा डेंगु सार्ने लामखुट्टे बसेको पाइएको छ । सर्भे अनुसार अन्यमा भन्दा टायरको पानीमा ९० दशमलब ९ प्रतिशत लामखुट्टेले फुल पारेको पाइएको हो । कचौरामा ६० प्रतिशत, ड्रमको पानिमा ५३ दशमलब ९ प्रतिशत, गमलामा ५० प्रतिशत एडिज जातको लामखुट्टेको लार्भा पाइएको हो । एडिस जातको लामखुट्टले सफा जमेको पानीमा फूल पार्ने गर्दछ ।
सबैभन्दा बढी मनसुनको बेला असार, साउन, भदौमा यो लामख्ट्टे सक्रिय रहने हुँदा सावधानी अपनाउनुपर्ने जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख कृष्ण बहादुर मिजारले बताउनुभयो । निर्देशनालयकी जनस्वास्थ्य प्रमुख सन्जु रायको अध्यक्षतामा भएको सार्वजनिकरण कार्यक्रममा हेटौंडा उपमहानगरपालिका प्रमुख मिना कुमारी लामा, उपप्रमुख राजेश बाँनिया, प्रमुख प्रशासकीय अधिकृत लगायतको उपस्थिती थियो ।














