नवनियुक्त प्रधानमन्त्री ओली सहित मन्त्रीहरुले शपथ लिए
३१ असार, हेटौँडा । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीलाई शपथ गराउनुभएको हो । प्रधानमन्त्रीमा दाबी पेस गर्ने समय सकिएपछि आइतबार बेलुकी ५ बजेपछि राष्ट्रपति पौडेलले ओलीलाई प्रधानमन्त्री नियुक्त गर्नुभएको थियो । ओली संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री नियुक्त हुनुभएको हो ।
यसैगरी दुई जना उपप्रधानमन्त्रीहरु प्रकाशमान सिंह र विष्णुप्रसाद पौडेल सहित मन्त्रीहरुले पनि शपथ लिनुभएको छ । जसमा विष्णु पौडेलले उपप्रधान मन्त्री सहित अर्थ , मानवीर राईले रक्षा, पृथ्वी सुब्बा गुरुङले सञ्चार, विद्या भट्टराईले शिक्षा, दामोदर भण्डारीले उद्योग, राजकुमार गुप्ताले संघीय मामिला, बलराम अधिकारीले भूमि व्यवस्था तथा सहकारी र देवेन्द्र दाहालले भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको सपथ लिनु भएको हो ।

यसैगरी प्रकाशमान सिंहले उपप्रधानमन्त्री सहित शहरी विकास , रमेश लेखकले गृह ,आरजु राणाले परराष्ट्र, दीपक खड्काले ऊर्जा ,ऐन बहादुर शाहीले वन, अजय चौरसियाले कानून, तेजुलाल चौधरीले युवा खेलकुद, बद्री पाण्डेले पर्यटन, प्रदीप पौडेलले स्वास्थ्य ,रामनाथ अधिकारीले कृषि मन्त्री पदको सपथ लिनुभएको हो ।
शपथ लिएपछि प्रधानमन्त्री ओली सहित मन्त्रीहरुले आजै पदभार समेत ग्रहण गर्ने छन् ।














