मन्त्री कुमारी मोक्तानको कार्य प्रगति विवरण सार्वजनिक
७ श्रावण, हेटौँडा । बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानले आफ्नोे कार्यकालका महत्वपूर्ण उपलब्धिहरु सार्वजनिक गर्नुभएको छ ।
सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलन मार्फत् दोस्रो कार्यकाल २०७९ माघ ११ गतेदेखि २०८१ साउन ६ गतेसम्म भएका मुख्य–मुख्य कार्य विवरण सार्वजनिक गरिएको हो । मन्त्रालयद्वारा सार्वजिनक पुस्तिकामा मन्त्रालयको कार्य क्षेत्र भित्र पर्ने शिक्षा, गरिबी निवारण, महिला तथा बालबालिका, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, सामाजिक सुरक्षा, सीपमूलक तालिम विषयको क्षेत्रमा भएका कार्य समेटिएको छ । मन्त्री मोक्तानको कार्यकालमा शिक्षा क्षेत्र सुधारमा उल्लेखनीय प्रगति भएको जनाइएको छ । २८ पेजमा सार्वजनिक गरिएको प्रगति विवरणमा १२ वटा पेजमा शिक्षा क्षेत्रमा भएका प्रगति समेटिएको छ । यो अवधिमा मन्त्रालयले प्रदेश उच्च शिक्षा ऐन, प्रदेश उच्च शिक्षा नियमावली २०७९, प्रदेश उच्च शिक्षा नियमावली संसोधन, बागमती प्रदेश विश्वविद्यालयको विधान स्वीकृत, प्राविधिक तथा व्यवसायिक शिक्षा एवम् तालिम नियमावली स्वीकृत गरी परिषद् स्थापना गरेको छ ।
यो अवधिमा प्रदेशका ५० वटा सामुदायिक माध्यामिक विद्यालयमा विद्यालय बस खरीदमा सहयोग, ७७ वटा सामुदायिक माध्यामिक विद्यालयमा एक–एक जना मावि शिक्षक बराबर अनुदान प्रदान, १३ वटा सामुदायिक विद्यालयमा पुस्तकालय निर्माण गरेको छ । बागमती प्रदेशका ३५ वटा स्थानीय तहसँगको साझेदारीमा गृहिणी महिला सशक्तिकरण कार्यक्रम सञ्चालन भैरहेको मन्त्री मोक्तानले जानकारी दिनुभयो । चेपाङ समुदायको उत्थानका लागि प्रदेशका ६ वटा स्थानीय तहमा चेपाङ, चमेरो र च्यूरी संरक्षण कार्यक्रम सुरु गरिएको उहाँले बताउनुभयो । पछिल्लो समय अटिजम समस्या चुुनौति बन्दै गईरहेको अवस्थामा बागमती पदेश सरकारले अटिजम भएका बालबालिकाका लागि आवासिय सुविधा सहितको दुई वटा विद्यालय निर्माणको तयारी भैरहेको बताउनुभयो ।














