कारागार र बाल सुधार गृहको अवस्था सुधार गर्न सरकार प्रतिवद्ध छः गृहमन्त्री लेखक

संवाददाता
१३ श्रावण २०८१, आईतवार १७:३१

१३ श्रावण, काठमाडौँ । सरकारले नेपालका कारागार र बाल सुधार गृहमा देखिएका समस्याहरुको समाधान गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।
कानून, न्याय तथा मानव अधिकार समितिको आईतवारको बैठकमा नेपालका बाल सुधार गृहमा रहेका बालबालिकाहरु र नेपालका कारागारहरुमा रहेका कैदी तथा थुनुवाहरुको मानव अधिकारको अवस्थाका सम्बन्धमा स्थलगत अनुगमन गर्न गठित उपसमितिहरुको प्रतिवेदन पेश भएको थियो । बैठकमा बोल्दै गृहमन्त्री रमेश लेखकले देशभरका कारागारमा कैदीबन्दीको व्यवस्थापनका लागि भौतिक संरचनामा सुधार गर्नु आवश्यक भएको बताउनुभयो । उहाँले यसतर्फ सरकारले गम्भीरतापूर्वक ध्यान दिने समेत उल्लेख गर्नुभयो । उहाँले कारागारको सुरक्षा व्यवस्थापन, सवारी साधन, पुस्तकालय लगायतको व्यवस्थापनमा पनि जोड दिइने बताउनु भयो । गृहमन्त्री लेखकले बाल सुधार गृहमा पनि भौतिक संरचनाको अभाव रहेको भन्दै सरकारको ध्यानकर्षण भएको बताउनु भयो ।
यसैगरी बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले सरकार कारागार र बाल सुधारगृहको अवस्था सुधार गर्न प्रतिवद्ध रहेको बताउनु भयो । उहाँले कारागारमा हुने समस्याहरुको बारेमा आफूहरुलाई जानकारी भएको भन्दै संविधान अनुरुप सुधार गर्नुपर्ने कुराहरु सुधार गर्ने बताउनु भयो ।
मन्त्री चौरसियाले कानूनमा आवश्यक सुधारका लागि सम्बन्धित मन्त्रालयहरुसँग छलफल गरेर सुधारको कामहरु अगाडी बढाइने बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*