हवाई क्षेत्रको सुधारका लागि विज्ञ सम्मिलित छानविन समिति गठन गर्न सरकारलाई संसदीय समितिको निर्देशन
२४ श्रावण, काठमाडौँ । संसदीय समितिले नेपालको हवाई उडानको क्षेत्रमा देखिएको समस्या समाधान गर्नका लागि सिफारिस गर्न विज्ञहरुको संलग्नतामा एक स्वतन्त्र छानविन समिति गठन गर्न सरकारलाई निर्देशन दिएको छ ।
बिहीवार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकले नेपालको हवाई सुरक्षा, सुरक्षा मापनको अवस्था तथा नेपालको विद्यमान नागरिक उड्डयन सम्बन्धि कानून एवं अन्तर्राष्ट्रिय अभ्यास अनुरुप कार्यान्वयन भए÷नभएको सम्बन्धमा १५ दिनभित्र छानविन गरी आवश्यक नीतिगत सुधार गर्न र कोही दोषी देखिएमा कारबाहीको सिफारिस गर्न विज्ञहरुको संलग्नतामा एक स्वतन्त्र छानविन समिति गठन गर्न संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्रालयलाई निर्देशन दिने निर्णय गरिएको समितिका सभापति राजकिशोर यादवले जानकारी दिनुभयो । त्यसैगरी बैठकले हवाई दुर्घटना, सुरक्षा र नियमनसँग सम्बन्धित नेपाल सरकार र मन्त्रालयद्वारा गठित छानविन समिति एवं कार्यदलमार्फत पेश भएका अध्ययन, अनुसन्धानमुलक प्रतिवेदनहरु के, कुन अवस्थामा रहेका छन् ? सो को जानकारीसहितको विवरण समितिलाई यथाशिघ्र उपलब्ध गराउन पनि सरकारलाई सचेत गराएको छ ।
यसैगरी बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले समग्र हवाई उड्डयनको क्षेत्रमा अध्ययन गर्नका लागि सरकारले आयोग बनाउन लागेको बताउनुभयो । मन्त्री पाण्डेले हवाई क्षेत्रको सिस्टममाथिकै के समस्या हो, प्राविधिक समस्या कहाँ छन्, जनशक्ति दक्ष हुनका लागि हुने विभिन्न प्रकारका प्राविधिक तालिमहरुको स्थिति के हो ? अनुगमनको स्थिति के हो ? यो नियमनको स्थिति के हो ? भन्नेमा समग्र अध्ययनका लागि सो आयोग गठन गर्न लागेको स्पष्ट पार्नुभयो ।
नेपाल नागरिक उडडयन प्राधिकरणले चालक दलको कमजोरी कारण एयर डाईनेष्टीको हेलिकप्टर दुर्घटनामा परेको जनाएको छ ।














