पालुङ खानेपानी योजनामा बजेट व्यवस्था गर्ने मन्त्री खड्काको प्रतिवद्धता

संवाददाता
२४ श्रावण २०८१, बिहीबार २२:०९

२४ श्रावण थाहा । बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिंचाइ मन्त्री श्याम बहादुर खड्काले नागरिकको आधारभूत आवश्यकता अन्तर्गत पर्ने खानेपानी सेवालाई प्रभावकारी बनाइने बताउनुभएको छ । प्रदेश अन्तर्गतका अधुरा योजनाहरुलाई सम्पन्न गरी नागरिकहरु समक्ष खानेपानीको पहुँच सहज गरिने मन्त्री खड्काले उल्लेख गर्नुभयो । थाहा नगरपालिका वडा नम्बर २ पालुङको अधुरो अवस्थामा रहेको थाहा खानेपानी तथा सरसफाई परियोजनाको स्थलगत अवलोगनका क्रममा मन्त्री खड्काले यस्तो बताउनुभएको हो ।

योजना तर्जुमाकै अवस्थादेखि अधुरा आयोजनालाई प्राथमिकता दिनूपर्ने बताउँदै पालुङको उक्त आयोजनालाई बजेट विनियोजन नभएकोप्रति आफ्नो ध्यानाकर्षण भएको बताउनुभयो । ‘केही बजेट मन्त्रालयमा छ, यस किसिमको अधुरो योजनालाई सम्पन्न गर्नुपर्छ’, उहाँले भन्नुभयो,‘मन्त्रालयका सचिवसंग छलफल गरी आयोजनाका लागि बजेट व्यवस्था गर्छु ।’ डायरी पल्टाउँदै योजनाको नाम टिप्दै मन्त्री खड्काले भन्नुभयो, ‘जनताको धारा धारामा पानी झर्न कति बजेट लाग्छ, व्यवस्थापन गर्छौ, चिन्ता नलिनूहोस ।’ उहाँले हेटौंडा स्थित खानेपानी डिभिजनका प्रमुखहरुलाई राखेर योजर्ना सम्पन्न गर्न तत्काल प्रक्रिया अघि बढाउने आश्वासन समेत दिनुभयो ।

थाहा नगरपालिकाका नगर प्रमुख विष्णु बहादुर विष्टले करिब १० वर्षदेखिको अधुरो योजनालाई पूरा गर्न मन्त्रालयले सहयोग गरिदिन आग्रह गर्नुभयो । स्थानीय तहको बजेटको आकार सानो भएकाले योजनाका लागि लगानी गर्न नसकेको उल्लेख गर्दै विषयगत मन्त्रालयको सहयोग आवश्यक भएको औल्याउनुभयो । ‘संघ तथा प्रदेशले पठाउने बजेट समेत घटेर निकासा हुने गरेकाले ठूला योजनामा बजेट विनियोजन गर्न सकिएको छैन’–प्रमुख विष्टले भन्नुभयो ।

नगर उपप्रमुख भरत गोपालीले खानेपानी मन्त्रालयबाट बजेटको व्यवस्था गरी शुद्ध पानीसहितको धारा उद्घाटन गर्ने अवस्था सृजना गरिदिन मन्त्री खड्कासंग आग्रह गर्नुभयो । जनतासंग प्रत्यक्ष जोडिएका विकास कार्यमा नगरपालिका सहकार्य गर्न तयार रहेको उल्लेख गर्दै नगरको कृषि क्षेत्रमा सिंचाइलगायतका योजनाहरुमा समेत सहयोग गरिदिन उपप्रमुख गोपालीले अनुरोध गर्नुभयो ।

सो अवसरमा थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी, ५ नम्बर वडाध्यक्ष विष्णु बहादुर विष्ट, कृषि विकास अधिकृत संजय तिवारी, थाहानगर खानेपानी व्यवस्थापन बोर्डका सुरज कुमार भुजेल, नेपाली काँग्रेस, ४ नम्बर वडा सभापति श्रीकृष्ण केसी, माओवादीका गणेश लामा, खानेपानी उपभोक्ता समितिका अध्यक्ष श्यामभक्त श्रेष्ठलगायतकाको उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*