लम्पी स्किन रोग विरुद्ध सप्ताहव्यापी खोप अभियान सुरु
२५ श्रावण, हेटौँडा । बागमती प्रदेश सरकारले प्रदेशका १३ जिल्लामा गाईभैंसीमा लाग्ने लम्पी स्किन रोग विरुद्ध सप्ताहव्यापी खोप अभियान सुरु गरेको छ ।
प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पशुमा लम्पी स्किन रोगको संक्रमण हुन नदिन आजदेखि साउन ३१ गतेसम्म सप्ताहव्यापी खोप अभियान सुरु गरेको हो । मकवानपुरको मकवानपुरगढी गाउँपािलका स्थित गाई फार्ममा बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकासमन्त्री प्रकाश श्रेष्ठले पशु स्वास्थ्यकर्मीलाई भ्याक्सिन हस्तान्तरण गर्दै अभियानको सुभारम्भ गर्नुभयो । खोप अभियान कार्यक्रमको सुभारम्भ समारोहलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले गाईभैसीमा लम्पी स्किन रोग लाग्न नदिन पूर्व तयारी स्वरुप प्रदेशका सबै स्थानीय तहमा प्रभावकारीताका साथ खोप अभियान सञ्चालन गरिने बताउनुभयो ।

अभियान अन्तर्गत प्रदेशका ७६ हजार २ सय ७५ गाईभैंसीमा लम्पी स्किन रोग विरुद्धको खोप लगाउने मन्त्रालयको लक्ष्य छ । यसका लागी ३ सय ७६ भ्याक्सिनेटर खटाइएको छ । स्थानीय तहको समन्वयमा पशु सेवा कार्यालय मार्फत खोप अभियान सञ्चालन भएको मन्त्रालयका सचिव विनोद कुमार भट्टराईले जानकारी दिनुभयो ।
लम्पी स्किन रोग नियन्त्रणका लागि बागमती प्रदेश सरकारले यस आर्थिक वर्षमा ७३ लाख बजेट विनियोजन गरेको छ । नेपालमा लम्पी स्किन रोगका कारण ७५ अर्ब ४८ करोडको आर्थिक क्षती भएको तथ्यांक छ । कार्यक्रममा मन्त्रालयका सचिव विनोद कुमार भट्टराई, कृषि तथा पशुपन्छी विकास निर्देशनालय बागमती प्रदेशका निर्देशक गौरीमान श्रेष्ठ, मकवानपुरगढी गाउँपालिकाका प्रमुख दोर्जे स्याङ्तान लगायतको आतिथ्यता थियो ।














