पेरिस ओलम्पिकको महिला म्याराथनमा सन्तोषी ७९ औं स्थानमा खुम्चिइन
२७ श्रावण, काठमाडौँ । नेपालकी म्याराथन धाविका सन्तोषी श्रेष्ठले पेरिस ओलम्पिक २०२४ मा म्याराथनको रुट केही कठिन भएकाले सोचे अनुरुप प्रदर्शन गर्न कठिन बताएको बताउनुभएको छ ।
पेरिस ओलम्पिकमा ९२ धाविकामध्ये उनी प्रतिष्पर्धामा ७९ औं स्थानमा खुम्चिनुभएको छ । म्याराथन पूरा गरेपछि पत्रकारसँगको कुराकानीमा सन्तोषीले नेपालबाट करियरकै उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यका साथ आएपनि पेरिस पुगेपछि रुट कठिन भएको जानकारी पाएपछि पूरा गर्न नै चुनौती भएको बताउनु भयो । उहाँले आफ्नो करियरकै चुनौतीपूर्ण कोर्सका रूपमा यो म्याराथनलाई लिएको उल्लेख गर्नुभयो । सन्तोषीले आफू १५ किलोमिटरसम्म समय सुधार गर्न भन्दा पनि दूरी पार गर्न तवरबाट दौडिएको बताउनु भयो ।
अधिकांश खेलाडीको चुनौती प्रारम्भिक चरणमा नै सीमित हुँदा प्रदर्शन पनि राम्रो बन्न सकेन । सन्तोषीको चुनौती नै पेरिस ओलम्पिकमा नेपालको अन्तिम प्रतिष्पर्धा हो । ३० वर्षीय सन्तोषीले युनिभर्सालिटी कोटाअन्तर्गत पेरिस ओलम्पिकको म्याराथनमा आफ्नो स्थान सुरक्षित गरेकी हुन् । नेपाल ओलम्पिक कमिटी र नेपाल एथलेटिक्स संघले सन्तोषीको सहभागिताका लागि नाम सिफारिस गरेको थियो ।














