हेटौंडा ७ वालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा हुने
२९ श्रावण, हेटौँडा । हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर ७ निकृष्ट बालश्रम मुक्त, बाल विवाह मुक्त तथा वालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा हुने भएको छ ।
भदौ १ गते शनिबार उपमहानगरको तेस्रो बालमैत्री स्थानीय शासनयुक्त वडाका रुपमा ७ नम्बर वडा घोषणा हुन लागेको हो । यसअघि वडा नम्बर २ र ८ लाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको थियो । मंगलबार वडा कार्यालयले पत्रकार सम्मेलनको आयोजना गर्दै बालमैत्री वडा घोषणाको तयारीका बारेमा जानकारी गराएको हो । यस वडाले बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८ ले निर्दिष्ट गरेका ५१ वटा सूचक पूरा गरेको ७ नं. वडा अध्यक्ष एवं बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा मुल समारोह समिति संयोजक दामोदर गौतमले दाबी गर्नुभयो । तोकिएका सूचक सूचकहरुमध्ये ४६ वटा सूचकहरु सतप्रतिशत र बाँकी सूचकमा ९० प्रतिशत भन्दा बढी नतिजा हासिल गरेको वडा अध्यक्ष गौतमले बताउनुभयो ।
बालमैत्री घोषणा पश्चात् यसको दिगोपनाका लागि लगानी योजना र पञ्चवर्षे रणनीतिक योजना दस्तावेज तयार पारिएको हेटौंडा उपमहानगरपालिकाकी महिला बालबालिका तथा समावेशीकरण महाशाखाकी प्रमुख विष्णुकुमारी लामिछानेले बताउनुभयो । कार्यक्रमको उद्घाटन बौद्धिक अपांगता भएका बालबालिकाको फरक क्षमताको प्रस्तूतिबाट गर्ने आयोजकको तयारी छ । कार्यक्रमको टिम टेलिभिजनबाट समेत प्रत्यक्ष प्रशारण हुने वडा कार्यालयले जनाएको छ । यसअघि वडा कार्यालयको प्राङ्गणबाट बाजागाजा र बृहत झाँकी सहितको ¥यालीले वडा परिक्रमा गरी कार्यक्रम स्थल नवज्योती माध्यामिक विद्यालयको खेलमैदान पुग्ने बताइएको छ ।
कार्यक्रममा राष्ट्रिय सेवा दल र तेक्वान्डो संघको विशेष प्रस्तूति रहने छ । यस वडामा १८ वर्ष मुनिका १ हजार ८ सय ९८ बालबालिका रहेका छन् । १० वटा बालसमूहरु र १ वडा बाल सञ्जाल रहेका छ ।














