हेटौंडा उपमहानगरपालिकाद्वारा ५ लाख बराबरको पुस्तक खरिद
६ भाद्र, हेटौँडा । वीरगन्ज कृषि औजार कारखाना सञ्चालन गर्ने उद्देश्यले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन आफ्नो जीवन गाथा समेटिएको पुस्तक बिक्रीका लागि हेटौडा आउनुभएको छ ।
केही दिन देखि हेटौंडाका चोक–चोकमा आफ्नो जीवन गाथा समेटिएको पुस्तक महावीर पुन बिक्री गरिरहनुभएका पुन बिहीबार हेटौंडा उपमहानगरपालिका कार्यालय पुग्नुभएको थियो । कृषि औजार कारखाना सञ्चालनका लागि पुस्तक किनेर सहयोग गर्न उहाँले उपमहानगरलाई आग्रह गर्नुभयो । पुस्तक बिक्रिका लागि मेची महाकाली अभियानमा रहनुभएका पुन लुम्बिनी र गण्डकी प्रदेशको यात्रापछि चितवन हुँदै बागमती प्रदेश राजधानी हेटौंडा आउनुभएको हो । २ सय २ औं दिनसम्म १ लाख २५ हजार प्रति भन्दा बढी पुस्तक बिक्री छ । आफ्नो अभियान पुस्तक बिक्रि गर्ने मात्रै नभई राष्ट्र निर्माणको अभियान रहेको उहाँले बताउनुभयो । जनसंख्याको १ प्रतिशतले मात्र पुस्तक खरीद गरेपनि कारखाना सञ्चालनका लागि २० करोड रुपियाँ संकलन गर्न सकिने उहाँको आकलन छ ।
उहाँको आग्रहलाई स्वीकार गर्दै उपमहानगरपालिकाले ५ लाख बराबरको पुस्तक समेत खरीद गरेको छ । नगरप्रमुख मिनाकुमारी लामाले स्वच्छ रुपमा सञ्चालन गरीएको अभियानमा उपमहानगरले साथ दिने बताउनुभयो । दिनभर उभिँदा सुन्निएका खुट्टाको पर्वाह नगरी तीन लाख पुस्तक बिक्री गर्ने लक्ष राखेर हिंडिरहनुभएको छ । २०४९ सालबाट बन्द रहेको कारखाना सञ्चालनका लागि पुनकै नेतृत्वमा मर्मत गरीएको थियो । कारखाना सञ्चालन पछि ४ सय जना नागरीकले प्रत्यक्ष रोजगारी पाउँने बताइएको छ । उपमहानगरमा आएका बैज्ञानिक पुनलाई नगर उपप्रमुख राजेश बानियाँ, प्रमुख प्रशासकीय अधिकृत सुर्यप्रसाद गौतमले स्वागत गर्दै नगरले अभियानमा साथ दिने बताएका थिए ।














