मकवानपुर जिल्लामा स्क्रब टाइफस रोगका बिरामी बढ्दै
९ भाद्र, हेटौँडा । मकवानपुर जिल्लामा स्क्रब टाइफस रोगका बिरामी बढ्दै गएको देखिएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका अनुसार गत साउन ४ गतेदेखि भदौ ९ गतेसम्म मकवानपुरमा ६४ जना स्क्रब टाइफसका बिरामी फेला परेका छन् । कार्यालयका अनुसार ४१ जना महिला र २३ पुरुषमा स्क्रब टाइफस देखिएको छ ।
संक्रमित मध्ये ७ जना बालबालिका रहेका छन् । थाहा नगरपालिका बाहेक मकवानपुरका सबै स्थानीय तहमा स्क्रब टाइफसका बिरामी फेला परेको जनस्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख कृष्ण बहादुर मिजारले जानकारी दिनुभयो ।
सबैभन्दा बढी हेटौंडा उपमहानगरपािलकाका ३५ जनामा संक्रमण देखा परेको छ । मकवानपुरगढी गाउँपालिकामा ८ जना , बकैया गाउँपालिकामा ७ जना, मनहरी गाउँपालिकामा ६ जना, भीमफेदीमा ४ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै, बागमती, इन्द्रसरोवर, कैलाश र राक्सिराङ गाउँपालिकाका एक–एक जनामा स्क्रब टाइफस देखा परेको छ । संक्रमितको हेटौंडा अस्पताल लगायत मकवानपुरका विभिन्न स्वास्थ्य संस्थाहरुमा उपचार भैरहेको छ ।
केही विरामी उपचारपछि निको भइसकेका छन् । स्क्रब टाइफस किर्ना जस्तो देखिने किराको टोकाइबाट लाग्छ । विशेषगरी झाडी, घाँसमा रहने यो किर्ना मुसामा पाइने स्वास्थ्यकर्मीले बताएका छन् ।
स्क्रब टाइफसको संक्रमण हुँद उच्च ज्वरो आउने, टाउको दुख्ने, सास फेर्न गा¥हो हुने, पसिना धेरै आउने, टोकेको ठाउँमा रातो विविरा देखिने जस्ता लक्षण देखिन्छन् ।














