हेटौँडाका छुट्टाछुट्टै स्थानमा २ महिलाको शंकास्पद मृत्यु
१० भाद्र, हेटौँडा । हेटौँडा–१० बसपार्कस्थित रत्ना होटलको कोठानम्बर २०५ मा २३ वर्षीया एलिसा न्यौपाने मृत अबस्थामा फेला परेकी छिन् ।
हेटौँडा–११ बस्ने एलिसा आइतबार साँझ ५ बजे होटलमा युवकका साथ पुगेकी थिईन । बिहान अबेरसम्म पनि ढोका नखुलेपछि होटल सञ्चालक नविन राना मगरले प्रहरी र जनप्रतिनिधिलाई खबर गरेका थिए । जनप्रतिनिधि र प्रहरीको रोहबरमा ढोका खोलेर हेर्दा उनी मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक लक्ष्मी भण्डारीले बताउनुभयो ।
युवतीसंगै आएका युवक झ्यालबाट बाहिर निस्कीएर भागेको र होटलमा टिपाईएको विवरणमा समेत गलत मोबाईल नम्बर उल्लेख गराएको हुँदा प्रहरीले युवतीको हत्या भएको हुनसक्ने आंशका गरेको छ । युवक आइतबार साँझ ७ बजेर ५९ मिनेट जाँदा होटलबाट बाहिरिएको दृश्य सिसी क्यामेरामा रेकर्ड भएको छ ।

सोमबार बिहान ढोका खोलेर हेर्दा मृतक युवतीको आँखामा चोट लागेको र कोठामा रगत देखिएको वडाअध्यक्ष फुर्वा दोर्जे लामाले बताउनुभयो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृतक युवतीको शव हेटौँडा अस्पतालको शव गृहमा राखिएकोे छ ।
यसैबीच हेटौँडा उपमहानगरपालिका वडा नम्बर १ पाथीभरा मन्दिर नजिक एक बृद्धा घरमा मृत अबस्थामा फेला परेकी छिन् । ७० वर्षीया ठुलीमाया विश्वकर्मा कोठाभित्र खाटमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । बृद्धाको हत्या भएको हुनसक्ने आशंकामा प्रहरीले मृतककी नाती २८ वर्षिय प्रबीण विश्वकर्मालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।














