हेटौंडा अस्पतालले आइतबारदेखि विस्तारित बहिरंग सेवा सुरु गर्दै
१४ भाद्र, हेटौँडा । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत सञ्चालित हेटौंडा अस्पतालले आफ्नो सेवामा बिस्तार गर्ने तयारी गरेको छ ।
विरामीको अध्याधिक चाप रहने यस अस्पतालमा विस्तारित बहिरंग सेवा इ.एच.एस अर्थात् पेइङ सेवा सुरु हुने भएको हो । भदौ १६ गतेदेखि शनिबार बाहेक दिउँसो ४ बजेदेखि देखि बेलुका ६ बजेसम्म विस्तारित ओपीडि सेवा सुरु गर्न लागिएको हेटौडा अस्पतालका निर्देशक धिरेन्द्र गिरीले बताउनुभयो । पेइङ सेवाका लागि टिकट शुल्क ५ सय तोकिएको उहाँले बताउनुभयो । पेइङ सेवा मार्फत् जनरल मेडिसिन, स्त्री तथा प्र्रसूति विशेषज्ञ सेवा, बालरोग विशेषज्ञ सेवा, नशा तथा हाडजोर्नी विशेषज्ञ सेवा, मनोरोग सेवा, भिडीयो एक्सरे सेवाका साथै ल्याब सेवा समेत उपलब्ध हुने निर्देशक गिरीले बताउनुभयो । ल्याव परिक्षण शुल्क भने अस्पतालले तोके अनुसारकै हुने उहाँले जानकारी दिनुभयो ।
बिरामीलाई सहज सेवा प्रदान गर्न अस्पतालका सेवामा केही बिस्तार गर्न लागिएको मेडिकल सुपरिटेण्डेन्ट डा. रामचन्द्र सापकोटाले बताउनुभयो । अस्पतालका चिकित्सक निजी स्वास्थ्य संस्थामा बिरामी हेर्न जाने अवस्थाको अन्त्यका लागि अस्पतालमै पेइङ सेवा सञ्चालन गर्न लागिएको उहाँले बताउनुभयो ।

यस्तैगरी अस्पतालले आइतबारदेखि लागू हुनेगरी बीमाका विरामीका लागि अनलाइन प्रणालीबाट टिकट लिने व्यवस्था गरेको छ । बिहानैदेखि अस्पतालमा बिमा मार्फत् उपचारका लागि आउने बिरामीको लाइन हुन थालेपछि सहजताका लागि अनलाइन मार्फत टिकट काट्ने व्यवस्था मिलाइएको हो ।
यसअघि स्वास्थ्य बीमामा आबद्ध नभएका बिरामीका लागि मात्रै अनलाइन टिकटको व्यवस्था गरिएको थियो । अस्पतालले निकट समयमा नै ओपीडि समय बढाउने तयारी समेत गरेको छ । बिहान ८ बजेदेखि नै बिरामी जाँच सेवा सुरु गर्न जनशक्ति थप गर्ने कार्य भैरहेको अस्पताल प्रशासनले जनाएको छ । हाल बिहान साढै नौ देखि दिउँसो ३ बजेसम्म ओपीडि सञ्चालन हुँदै आएको छ । हेटौंडा अस्पतालमा दैनिक १ हजार ३ सय भन्दा बढीले सेवा लिने गरेका छन् ।














