सञ्चार कानूनबारे अन्तरसंवाद कार्यक्रम सोमबार हेटौंडामा सम्पन्न
१७ भाद्र, हेटौँडा । बागमती प्रदेशको राजधानी हेटौंडामा सञ्चार कानूनबारे अन्तरसंवाद कार्यक्रमको आयोजना गरिएको छ ।
नेपाल पत्रकार महासंघ केन्द्रको संयोजनमा मकवानपुर शाखाको आयोजनामा सोमबार कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवानपुरका सल्लाहकार बालकृष्ण अधिकारीले प्रदेश सरञ्चार माध्यम व्यवस्थापन ऐन, २०७५ कार्यान्यवय र चूनौति विषयमा र बागमती प्रदेशका सञ्चार रजिष्टार रेवती प्रसाद सापकोटाले कानून कार्यान्वयनका शिलशिलामा आइपरेका जटिलताका विषयमा प्रस्तूति राख्नुभएको थियो ।
कार्यक्रममा बोल्दै आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव पूर्ण बहादुर दर्जिले पत्रकारको सहजताका लागि नै सञ्चारसम्बन्धी ऐन ल्याइएको बताउनुभयो । कानून कार्यान्वयनका पाटोमा देखिएका कमी कमजोरीलाई संसोधनका लागि मन्त्रालय तत्पर रहेको समेत उहाँले बताउनुभयो ।
यसैगरी कार्यक्रममा बोल्नुहुँदै प्रमुख जिल्ला अधिकारी तिर्थराज चिलुवालले नेपालका कानुनहरु अझैपनि पर्याप्त नभएको बताउनुभयो । यद्यपि कानुन कार्यान्वयनमा भएका चुनौती र समस्याहरुलाई समाधान गर्दै अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो । कानुनमा भएको दण्ड, जरिवानाको व्यवस्था गलत काम गर्ने पात्रलाई भएकोले त्यसबाट नडराउन पनि उहाँले आग्रह गर्नुभयो ।
त्यसैगरी सञ्चार रजिष्टार रेवती सापकोटाले बागमती प्रदेश सञ्चार क्षेत्रको विकासका लागि नमूना प्रदेश बन्दै गएको दाबी गर्नुभयो ।
पत्रकार महासंघ मकवानपुरका कार्यवाहक अध्यक्ष ध्रुव अधिकारीको सभाध्यक्षतामा भएको कार्यक्रममा पत्रकार महासंघका केन्द्रिय कोषाध्यक्ष कलेन्द्र तेजुवाल, महासंघ बागमती प्रदेशका उपाध्यक्षद्धय रुपेश दुलाल र सम्झना अधिकारी, संस्थापक अध्यक्ष प्रताप विष्ट, आन्तरिक मामिला तथा कानून मन्त्रालयकी उपसचिव मनुका घिमिरे, मानव अधिकार आयोग बागमती प्रमुख पवन भट्ट, ब्रोडकाष्टिङ एसोसिएसन अफ नेपाल (वान) का वरिष्ठ केन्द्रिय उपाध्यक्ष उज्वल चौँलागाई, मकवानपुरका प्रहरी प्रवक्ता लक्ष्मी भण्डारी, गैसस महासंघ मकवानपुरकी अध्यक्ष रमिला सापकोट सहित विभिन्न सञ्चारमाध्यमका सञ्चारकर्मी लगायतको उपस्थिती रहेको थियो ।














