अनेरास्ववियू र अनेरास्ववियू क्रान्तिकारीले नेवीसंघलाई ताला लगाउन रोके
१७ भाद्र, हेटौँडा । चितवनको रामपुर क्याम्पसमा भएको घटनालाई लिएर वन विज्ञान अध्ययन संस्थान हेटौंडामा ताला लगाउन पुगेका नेपाल विद्यार्थी संघका कार्यकतालाई अन्य दुई विद्यार्थी संगठनले रोकेका छन् ।
रामपुरमा स्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयमा एमाले निकट अनेरास्ववियूका विद्यार्थीहरुले नेविसंघका विद्यार्थी माथि आक्रमण गरेको विरोधमा ताला लगाउन नेविसंघका केन्द्रिय सदस्य मिलन पुडासैनी सहितको टोली वन विज्ञान अध्ययन संस्थान पुगेका थिए ।
अन्तिम वर्षको अन्तिम परिक्षा चलिरहेको अवस्थामा क्याम्पसमा ताला लगाउन नहुने भन्दै अनेरास्ववियू र अनेरास्ववियू क्रान्तिकारीले रोकका हुन् । क्याम्पसमा ताला लगाउन पाईदैन भन्दै दुई संगठनका विद्यार्थीहरुले नाराबाजी गरेका थिए । रामपुरमा भएको घटनाको असर हेटौंडामा पर्न नहुनेमा दुई विद्यार्थी संगठनको तर्क छ ।
यता, नेविसंघका केन्द्रिय नेता मिलन पुडासैनीले केन्द्रिय सर्कुलर अनुसार विश्वविद्यालय अन्तर्गतका सबै क्याम्पसमा तालाबन्दी गर्ने बताउनुभयो । शैक्षिक संस्थामा अराजकता बढेकाले आफूहरुले यसको विरोध गरेको उहाँको भनाई छ ।
गत भदौ ११ गते नेविसंघ र अनेरास्ववियूबिचको झडपमा परी नेविसंघका दुई विद्यार्थी गम्भिर घाइते भएका थिए ।














