राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता–२०८१ को तयारी पूरा

संवाददाता
२३ भाद्र २०८१, आईतवार १८:२९

२३ भाद्र, हेटौँडा । रोटरी क्लब अफ मकवानपुरको आयोजनामा सोमबार (भोली) बाट सुरु हुने तेस्रो रोटरी मकवानपुर पिप्ले क्याम्पा राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता–२०८१ को तयारी पूरा भएको छ ।
जलन प्राथमिक उपचार केन्द्र स्थापनाका लागि सहयोग जुटाउने उद्देश्यले भदौ २४ गतेदेखि ३१ गतेसम्म हेटौँडा –५ स्थित पिप्ले क्याम्पा रंगशालामा आयोजना हुने ११ ए साइड भेट्रान्स फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । प्रतियोगितामा देशका विभिन्न स्थानका १५ वटा भेट्रान्स क्लबहरुले प्रतिस्पर्धा गर्ने आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । कार्यक्रमको उद्घाटन हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मिना कुमारी लामाले गर्नुहुने भएको छ ।
उद्घाटन खेलमा नागस्वती भेट्रान्स क्लव हेटौंडा र चितवन भेट्रान्स क्लव चितवनबिच प्रतिस्पर्धा हुने रोटरी क्लब अफ मकवानपुरका अध्यक्ष अनिल अग्रवालले जानकारी दिनुभयो । उहाँका अनुसार, प्रतियोगितामा ८ दिनमा कूल १५ खेल सन्चालन हुने छ । प्रतियोगिताको विजेता क्लबले २ लाख २ हजार २ सय २२ रुपैयाँ प्राप्त गर्नेछ भने दोस्रो हुने क्लबले १ लाख १ हजार १ सय ११ प्राप्त गर्नेछ ।
प्रतियोगिताको मुख्य प्रायोजकका रुपमा हेटौँडा उपमहानगरपालिका र सहप्रायोजकका रुपमा हेटौँडा स्कुल अफ म्यानेजमेन्ट रहेका छन् । साथै प्रतियोगिता सञ्चालनका लागि मकवानपुरका स्थानीय तह, वडा कार्यालय, विभिन्न उद्योग तथा वित्तिय संघसंस्थाहरुको सहयोग रहने बताइएको छ ।
प्रतियोगिता सञ्चालनका लागि १६ लाख लाग्ने आयोजकको अनुमान छ । पिप्ले युवा क्लव र रोट्रयाक क्लब अफ मकवानपुरको सहआयोजनामा प्रतियोगिता हुन लागेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*