संविधान संशोधन अनुसन्धानको विषय बन्नुपर्छः मुख्यमन्त्री लामा
२५ भाद्र, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले संविधान संशोधन अनुसन्धानको विषय बन्नुपर्ने बताउनुभएको छ ।
अनुसन्धान बिना संविधान संशोधन हुँदा झन विवादित हुने उहाँको भनाई छ । जिल्ला समन्वय समिति मकवानपुरको १० औं सभामा बोल्नुहुँदै मुख्यमन्त्री लामाले स्थानीय, प्रदेश र केन्द्र सरकारको अधिकार स्पष्ट किटान हुने गरी संविधान संशोधन हुनुपर्ने बताउनुभयो । राजनीतिक नेतृत्वहरुले परिकल्पना गरे विपरीत प्रदेशहरु अघि बढेको उहाँले जिकिर गर्नुभयो ।
मुख्यमन्त्री लामाले प्रदेशको औचित्यलाई पनि पुष्टि गर्ने गरी संविधान संशोधन गर्नुपर्नेमा समेत जोड दिनुभयो । अहिलेको व्यवस्थाबाट जनताहरु निराशा हुने अवस्था आउनु स्वाभाविक भएको उहाँले बताउनुभयो । प्रादेशिक संरचनाबाट केही सुुधारहरु भएपनि जनताको आकांक्षा अनुसार अझै पनि सुधार हुन नसकेको मुख्यमन्त्री लामाको भनाई छ ।

मुख्यमन्त्री लामाले संविधान निर्माणको क्रममा प्रमुख राजनीतिक दलहरु चुकेको बताउनुभयो । संघीयतालाई कम खर्चालु गर्ने कांग्रेसको प्रस्तावमा अरु राजनीतिक दलहरु सहमत हुन नसकेको उहाँको भनाई छ । ५ वटामात्र प्रदेशको प्रस्ताव राख्दा कांग्रेसलाई संघीयता विरोधी पार्टी भनेर आरोप लागेको समेत उहाँले बताउनुभयो ।
मुख्यमन्त्री लामाले जिल्ला समन्वय समितिले अझै पनि अधिकार प्राप्त गर्न नसकेको जिकिर गर्नुभयो । स्थानीय तहलाई नियन्त्रणमा राख्न समन्वय समिति चाहिन्छ भन्ने कांग्रेसकै अडानका कारण समन्वय समितिको व्यवस्था भएको मुख्यमन्त्री लामाले दाबी गर्नुभयो ।
मुख्यमन्त्री लामाले सुशासन कायम हुने गरी र जनताले प्रत्यक्ष अनुभुति गर्ने गरी काम गर्न पनि स्थानीय तहलाई आग्रह गर्नुभयो ।














