अवैध ढुंगा निकासी रोक्न गाउँपालिकालाई युवा संघको ध्यानाकर्षण
२५ भाद्र, हेटौँडा । मकवानपुरगढी गाउँपालिकामा अवैध तवरले नदीजन्य पदार्थ (ढुंगा) ओसारपसार रोक्न राष्ट्रिय युवा संघ नेपालले ध्यानाकर्षण गराएको छ ।
गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तान र प्रमुख प्रशासकीय अधिकृत नवीन गङ्तान लामालाई युवा संघले ढुंगाको अवैध निकासी रोक्न ध्यानाकर्षण गराएको हो । मकवानपुरगढी गाउँपालिकाको ७ नम्बर वडास्थित सुकौराबाट कर छलेर ढुंगा बाहिर निकासी भइरहेकोको विषयमा गाउँपालिकादेखि प्रशासन सम्मको मौनता देखिनु र दोषिलाई कारबाहीको दायरामा ल्याउन नसक्नुले कानुनी राज्यको उपहास भएको युवा संघका अध्यक्ष विष्णु सिलवालले बताउनुभयो ।
युवा संघले प्राकृतिक स्रोतको स्टक प्रमाणित नगरी गैरकानुनी तवरले चोरी निकासी भएकोप्रति व्यवास्था गरिनुले राजश्व अपचलन भएको आशंका गरेको छ । २०८१ श्रावण यता मात्र कान्तिलोकपथ सडक निर्माणका लागि भन्दै टिपरमा एक हजार टिप भन्दा बढी निकासी भएको युवा संघको आरोप छ ।
ज्ञापन पत्र बुझ्दै गाउँपालिका अध्यक्ष स्याङ्तानले युवा संघले उठाएका विषय र आफ्नो चिन्ता र चासो साझा रहेको प्रतिक्रिया दिनुभयो । उहाँले नदीजन्य पदार्थको अवैध ओसारपसार र चोरी निकासी नियन्त्रण गरेरै छाड्ने बताउँदै यसअघि प्रयास गर्दा धम्कीको सामना गर्नुपरेको बताउनुभयो ।














