४ नं. वडा भाद्र २८ गते स्थानीय शासनयुक्त वडा घोषणा हुने
२६ भाद्र, हेटौँडा । हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर ४ भदौ २८ गते निकृष्ट बालश्रम मुक्त, बालविवाह मुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा हुने भएको छ ।
उक्त दिन बालमैत्री वडा घोषणाका साथै वृहत् शैक्षिक प्रदर्शनी तथा साँस्कृतिक कार्यक्रम समेत आयोजना गरिने बुधबार आयोजित पत्रकार सम्मेलन मार्फत् जानकारी गराइएको छ । यस वडाले बाल अधिकारका महत्वपूर्ण पक्षहरु बाल बचाउ, बाल संरक्षण, बाल विकास र बाल सहभागिताका साथै बालमैत्री वडा घोषणाका लागि आवश्यक ५१ सूचक मध्ये ४९ सूचकमा सतप्रतिशत नतिजा हासिल गरेको ४ नम्बर वडाकी कार्यवाहक अध्यक्ष एवम् बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा मुल समारोह समिति सह–संयोजक गिता त्रिपाठीले जानकारी दिनुभयो ।
यस वडामा १८ वर्ष मुनिका ४ हजार २ सय ७० जना बालबालिका रहेका छन् । सामुदायिक र संस्थागत गरी ८ वटा विद्यालय र अटिजम भएका बालबालिकाहरुको सिकाईका निम्ति सेन्टर फर अटिजम सञ्चालनमा रहेका छन् । यस वडाका विद्यालय उमेर समूहका सबै बालबालिका विद्यालय भर्ना भएको सुनिश्चित गरिएको वडा कार्यालयले जनाएको छ । यस वडामा बिचैमा विद्यालय छाड्ने दर शून्य रहेको बताइएको छ ।
हुप्रचौरबाट सुरु हुने बाजागाजा झाँकी सहितको बृहत प्रभातफेरीले वडा परिक्रमा गरी कार्यक्रम स्थल रोयल पार्टी प्यालेस पुग्ने कार्यवहाक वडा अध्यक्ष त्रिपाठीले बताउनुभयो । बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा कार्यक्रम पश्चात् बृहत् शैक्षिक प्रदर्शनी तथा सास्कृतिक कार्यक्रम हुने आयोजकले जनाएको छ ।
कार्यक्रम सम्पन्न गर्न करीब ८ लाख लाग्ने अनुमान गरिएको छ । सोही दिन हेटौंडा उपमहानगरपालिकाको विशेष नगर सभा आव्हान गरिएको छ ।














