नेपाली कांग्रेसले भाद्र ३० गते हेटौंँडामा जनप्रतिनिधिसंग अन्तरसंवाद कार्यक्रम गर्ने
२६ भाद्र, हेटौँडा । नेपाली काँग्रेसको स्थानीय तह समन्वय विभागले बागमती प्रदेशको राजधानी हेटौंडामा बृहत् अन्तरसंवाद कार्यक्रम गर्ने भएको छ ।
भदौ ३० गते नेपाली काँग्रेसका महामन्त्री विश्व प्रकाश शर्माको प्रमुख आतिथ्यतामा विभागले पहिलो पटक विभागीय कार्यक्रम गर्न लागेको बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । नेपाली काँग्रेसबाट मकवानपुरका स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि र उम्मेदवार समेतको सहभागिताका अन्तरसंवाद कार्यक्रम गर्न लागिएको नेपाली काँग्रेस मकवानपुरका सभापति बुद्ध लामाले जानकारी दिनुभयो ।
कार्यक्रममा निर्वाचित जनप्रतिनिधिका कार्य अनुभव, कार्य समिक्षा, स्थानीय तहका अधिकारका विषयमा छलफल, स्थानीय तह र प्रदेश बिचको समन्वयात्मक अन्तरसम्बन्ध, बाझिएका ऐन लगायत, जिल्ला सम्मेलनले पास गरेका विषयका बारेमा छलफल हुने बताइएको छ ।
कार्यक्रममा वडा सदस्य, अध्यक्ष, स्थानीय तह प्रमुख उपप्रमुख, जिसस सदस्य, गाउँ नगर कार्य समिति सदस्य, उम्मेदवार समेत गरी करीब दुई सय जनाको सहभागिता रहने सभापति लामाले जानकारी दिनुभयो ।














