राष्ट्रसंघको महासभामा न्यायोचित राष्ट्रिय हितको विषयमा कुरा राख्छुः प्रधानमन्त्री ओली

संवाददाता
३१ भाद्र २०८१, सोमबार १५:५५

३१ भाद्र, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको ७९ औँ महासभामा भाग लिने क्रममा आफूले नेपालको शीर ढल्ने वा प्रतिष्ठा तल पर्ने गरी कुनै पनि काम नगर्ने स्पष्ट गर्नुभएको छ ।
महासभामा उठाइने विषयमा सोमबार प्रतिनिधिसभालाई जानकारी गराउँदै प्रधानमन्त्री ओलीले राष्ट्रसंघको वडापत्रको पालना गर्दै अरुको आन्तरिक मामिलामा हस्ताक्षेप नगर्ने र अरुको हस्तक्षेप पनि स्वीकार नगर्ने नेपालको नीतिबारे स्पष्ट गराउने जनाउनुुभयो । उहाँले नेपालको संविधान, लोकतान्त्रिक मान्यता, सार्वभौमसत्ता सम्पन्न स्वतन्त्र राष्ट्रको पहिचान, न्यायोचित राष्ट्रिय हित र अन्तर्राष्ट्रिय प्रतिबद्धताका विषय राख्ने जनाउनुुभयो ।
प्रधानमन्त्री ओलीले आफूहरुले देश र जनताको लागि राजनीतिक गर्ने तथा आजका लागि र त्यो भन्दा बढी भोलिका लागि राजनीति गर्ने भएकाले यस तथ्यलाई मनन् गरेर अन्तर्राष्ट्रिस्तरमा प्रतिनिधित्व गर्ने स्पष्ट गर्नुभयो । उहाँले महासभामा ‘फ्युुचर समिट’ मा सम्बोधन गरी मानव जाति र धर्तीको सुरक्षा, हिमाल र समुुद्रको इकोसिस्टमबारे नेपालको दृष्टिकोण प्रस्तुत गर्ने अवगत गराउँदै हिमाल पग्लिएर समुद्रको सतह वृद्धि भएको बताउनुभयो ।
यसैगरी प्रधानमन्त्री ओलीले उपसभामुख इन्दिरा रानामगरको विषय अनावश्यक उचालिएको बताउनुभयो । उहाँले कतै उठ्दै नउठेको विषयमा अनावश्यक टिप्पणी भएको उल्लेख गर्नुभयो । उपसभामुखको कुरा उठ्दा जातीयता र लिंगीय विभेदका कुरा उठाएर गालीगलौच गरिएको भन्दै प्रधानमन्त्री ओलीले असन्तुष्टि जनाउनुभयो ।
सोमबार प्रधानमन्त्री ओलीले सार्वजनिक रुपमा उठेका प्रश्नबारे बालुवाटार बैठकमा छलफल भएको संकेत समेत गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*