संविधान दिवस २०८१ लाई भव्य रुपमा मनाउन बागमती प्रदेश सरकारको अपील
३१ भाद्र, हेटौँडा । संविधान दिवस २०८१ लाई भव्य रुपमा मनाउन बागमती प्रदेश सरकारले अपील गरेको छ ।
असोज २, ३ र ४ गते तीन दिन संविधान दिवसको अवसरमा आयोजना हुने विविध कार्यक्रममा सहभागिता जनाउन आम प्रदेश बासीमा प्रदेश सरकारले अपील गरेको हो । ऐतिहासिक दिनलाई उत्सवका रुपमा मनाउँदै तीन दिन राष्ट्रिय झण्डा सजाउन तथा साँझ घरघरमा दिपावली गर्न सबै जनसमुदायमा प्रदेश सरकारले आग्रह गरेको छ ।
संविधान दिवसका अवसरमा आयोजित कार्यक्रमका बारेमा जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री सुरजचन्द्र लामिछानेले कठिन परिस्थितिका बाबजुद राजनीतिक नेतृत्वको दृढ इच्छाशक्तिले जारी भएको संविधानले इतिहासका विभिन्न कालखण्डमा भएका संघर्षहरुको मर्म र नेपालीजनको भावनालाई प्रतिविम्बित गरेको बताउनुभयो । बागमती प्रदेशमा संविधान दिवस भव्य रुपमा मनाउनका लागि मुख्यमन्त्री बहादुर सिंह लामाको अध्यक्षतामा ४३ सदस्यीय प्रदेश मूल समारोह समिति गठन गरिएको छ । असोज २, ३ र ४ गते तीन दिन विभिन्न कार्यक्रमको आयोजना गर्दै प्रदेश सरकारले संविधान दिवस मनाउने भएको छ ।
दिवसको अवसरमा प्रदेश सरकारले निबन्ध प्रतियोगिता, वृक्षारोपण, सरसफाई, रक्तदान, अपांगता भएका व्यक्तिलाई आवश्यकता अनुसार कृतिम हातखुट्टा प्रदान गर्ने, निःशुल्क स्वास्थ्य शिविर, सार्वजनिक सवारी साधनमा राष्ट्रिय झण्डा फहराउने लगायत विभिन्न कार्यक्रमहरु गर्ने प्रवक्ता लामिछानेले जानकारी दिनुभयो । असोज ३ गते संविधान दिवसको दिन प्रदेश राजधानी हेटौंडामा मूल समारोह आयोजना गरिएको उहाँले बताउनुभयो । प्रदेश प्रमुखको प्रमुख आतिथ्यतामा मूल समारोह कार्यक्रम हुने छ ।














