कवि यश लामाको कविता कृति बहिष्कृत आवाजको विमोचन
५ असोज, हेटौँडा । शिक्षक एवं कवि यश लामाको कविता कृति बहिष्कृत आवाजको विमोचन गरिएको छ ।
शनिबार आयोजित एक कार्यक्रमका बिच लामाको पहिलो कविता कृति बहिष्कृत आवाज सार्वजनिक गरिएको हो । छ वटा खण्डमा विभाजन गरी कविता संग्रह प्रकाशित गरिएको हो ।
विद्यालय जीवनदेखि नै कविता लेख्दै आउनुभएका बारा जिल्लाको निजगढ नगरपालिका–७ का स्थायीवासी लामाले करिब १० वर्ष अवधिमा लेखिएका ४५ वटा कवितालाई बहिष्कृत आवाजमा समावेश गर्नुभएको छ ।
सांग्रीला बुक्सले प्रकाशन गरेको कविता कृतिमाथि मकवानपुरगढी गाउँपालिकाकी उपाध्यक्ष मानकुमारी नेपाली र डाक्टर रामजी रामले समिक्षात्मक टिप्पणी राख्नुभएको थियो । यस कृतिमा समाजमा पछि पारिएका आवाजहरुलाई कविता मार्फत् समेटिएको छ ।














