संविधान संशोधनको मुल एजेण्डामा सरकार प्रवेश गर्न सकेको छैनः नेता कोइराला
८ असोज, काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले आफूले भनेको जस्तै सरकार बनेपनि निरंकुश हुन थालेकोमा चिन्ता व्यक्त गर्नुभएको छ ।
नेता कोईरालाले नेपाली कांग्रेस र नेकपा एमालेको वर्तमान सरकार मुल एजेण्डाबाट बाहिर गएर काम गर्न थालेको टिप्पणी गर्नुभयो । जनतालाई छिटो छिटो डेलिभरी दिनुपर्नेमा सरकार अन्य कुरामा अलमलिएको उहाँले आरोप लगाउनु भयो । नेता कोइरालाले संविधान संशोधनको मुल एजेण्डामा सरकार प्रवेश नै गर्न नसक्दा राजनैतिक अस्थिरता पुनः दोहोरिने खतरा बढेको जिकिर गर्नुभयो । नेता कोइरालाले संविधान संशोधन जटिल विषय भएकाले सरकारले अहिलेदेखि नै तयारी सुरु गर्नुपर्ने बताउनुभयो । विज्ञहरुको एउटा आयोग गठन गरेर वा संसदबाटै पनि संशोधन गर्न सकिने उहाँको धारणा छ ।
नेता कोइरालाले संसदमा कुनै एउटा दलको बहुमत आउने गरी निर्वाचन प्रणाली संशोधन गर्नुपर्नेमा जोड दिनुभयो । प्रत्यक्ष निर्वाचनमा नै महिला, दलित, आदिवासी जनजातिलाई आरक्षण दिन सकिने नेता कोइरालाको भनाइ छ । त्यसैगरी नेता कोइरालाले सबै अधिकार केन्द्र सरकारमै रहने हो भने संघीयता रहनुको कुनै औचित्य नहुने समेत बताउनुभयो । राज्य सञ्चालन गर्ने नेतृत्वकर्ताहरुले नै अधिकार प्रत्यायोजन गर्न नचाहेको उहाँले आरोप लगाउनुभयो ।
नेता कोइरालाले सहकारीको वचत रकम अपचलन सम्बन्धी संसदीय छानविन समितिको प्रतिवेदन कार्यान्वयन हुनेमा समेत शंका व्यक्त गर्नुभयो ।














