राष्ट्रिय एकताका लागि खेल र सांस्कृतिक क्षेत्रको भुमिका महत्वपूर्णः अध्यक्ष दाहाल
९ असोज, काठमाडौँ । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय एकताका लागि खेल क्षेत्र र सांस्कृतिक क्षेत्रको महत्वपूर्ण भुमिका हुने बताउनुभएको छ ।
बुधवार अखिल नेपाल चेस एशोसिएशनको आयोजनामा भएको एफ.एम. सुजेन्द्रप्रसाद श्रेष्ठ प्रथम स्मृति भेट्रान राष्ट्रिय चेस प्रतियोगिता २०८१ उद्घाटन समारोहमा बोल्दै अध्यक्ष दाहालले यस्तो बताउनुभएको हो । उहाँले आफूले पहिलोपटक प्रधानमन्त्री हुँदादेखि नै खेल र सांस्कृतिक क्षेत्रलाई विशेष ध्यान दिइरहेको बताउनु भयो । उहाँले खेलकुदको माध्यमबाट राष्ट्रिय एकताको प्रवद्र्धन हुने बताउनु भयो । खेल क्षेत्र समाजमा अनुशासन र मर्यादा कायम गर्ने महत्वपूर्ण रणनीतिक क्षेत्र भएको उहाँले उल्लेख गर्नुभयो । उहाँले सांस्कृतिक क्षेत्रले पनि देशका सबै जातजाति, भाषाभाषि, क्षेत्र, वर्ग, समुदायलाई एउटै सूत्रमा बाँधेर राष्ट्रिय एकतालाई प्रवद्र्धन गर्ने बताउनु भयो ।
उहाँले नेपालले अन्तर्राष्ट्रिय खेल प्रतियोगिताहरुमा पनि पदक हासिल गर्न सफल भएको भन्दै यस वर्ष कहिल्यै नर्बिसने वर्ष बन्न गएको बताउनुभयो ।














