बाढी र पहिरोले बाटो अवरुद्ध हुँदा हेटौंडा बजारमा तरकारीको भाउ आकाशियो

संवाददाता
१३ आश्विन २०८१, आईतवार १८:५५

१३ असोज, हेटौँडा । अविरल वर्षाका कारण बाढी र पहिरोले बाटो अवरुद्ध हुँदा हेटौंडा बजारमा तरकारीको भाउ आकाशिएको छ ।
समयमै तरकारी ढुवानी हुन नसक्दा किसानले उत्पादन गरेका तरकारी बारीमै कुँहीने अवस्था आएको छ भने बजारमा ताजा तरकारीको अभाव देखिएको छ । तरकारीको पकेट क्षेत्र थाहा नगरपालिका र इन्द्रसरोवर गाउँबाट तरकारी आउन सकेको छैन ।
मनहरी र हेटौँडाका ग्रामिण क्षेत्रबाट मात्रै आउने तरकारीले बजारको आवश्यकता पुरा हुन सकेको छैन । निरन्तरको वर्षाले बाटो अवरुद्ध बन्दा तरकारी ल्याउन नसक्दा उपभोक्ताले खोजेको तरकारी समेत पाउन सकेका छैनन् । तीनचार दिन अगाडीका तरकारी किन्न परेको उपभोक्ताले बताएका छन् ।


बजारमा तरकारीको अभाव भएपछि माग पूरा गर्न मूल्यवृद्धि हुनु स्वभाविक भएको व्यवसायी बताउँछन् । नेपाल फलफूल तथा तरकारी व्यवसायी संघ मकवानपुरका सचिव नवराज पौडेलले अन्य समयमा भन्दा कम मात्रामा तरकारी आएको बताउनुभयो ।
तरकारी उत्पादन हुने स्थानमा सडक अवरुद्ध हुँदा तरकारीको मूल्य बढ्न गएको व्यवसायीहरु बताउँछन् । सबैभन्दा बढी खपत हुने टमाटर बन्दा, काउली, धनीया लगायतका तरकारीको अभाव देखिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*