हेटौंडा–काठमाडौं जोड्ने चल्तीका सबै वैकल्पिकमार्ग सञ्चालनमा

संवाददाता
२२ आश्विन २०८१, मंगलवार १०:२१

असोज २२ हेटौंडा । असोज ११ र १२ गतेको वर्षाका कारण आएको बाढीपहिरोले अवरुद्ध बनेको कान्तिलोकपथ सञ्चालनमा आएको छ । ललितपुर र मकवानपुर जिल्ला जोड्ने भीमफेदी गाउँपालिका वडा नम्बर–८ वागमती पुल बाढीले क्षतिग्रस्त बनाउँदा उक्त सडकमार्ग विगत दश दिनदेखि अवरुद्ध बनेको थियो ।

उक्त पुल सम्म पुग्न चारवटा ह्युम पाइप राखेर पहूँचमार्ग निर्माण गरेर सवारी सञ्चालनको व्यवस्था मिलाइएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले जानकारी दिनुभयो । यो सडकमार्गमा हलुका सवारीलाई मात्रै प्रवेश दिइएको उहाँले बताउनुभयो ।

यो सँगै हेटौंडा– काठमाडौं जोड्ने चल्तीमा रहेका सबै वैकल्पिक सडकमार्ग सञ्चालनमा आएका छन् । हेटौंडा काठमाडौं जोड्ने सबैभन्दा छोटो दूरीको महालक्ष्मीखोला–चखेल–मातातीर्थ सकक खण्ड, फाखेल– हुमाने–फर्पिङ सडक र सिस्नेरी–दक्षिणकाली–फर्पिङ–काठमाडौं जोड्ने सडक आइतबार साँझबाट नै सञ्चालनमा ल्याइएको थियो ।विपद्बाट् क्षतिग्रस्त सडकमार्गमा सहज रुपमा सवारी आवागमनको व्यवस्था मिलाइएको प्रजिअ चिलुवालले बताउनुभयो । यद्यपी डाइभर्सन निर्माण भएका स्थानमा बाटो नयाँ बनाइएको, घुम्ती धेरै रहेकोले यात्राका क्रममा सावधानी अपनाउन उहाँले आग्रह गर्नुभयो ।

चाडपर्वको समयमा सवारी चाप धेरै हुने हुँदा सहज यात्रा गराउन क्षतिग्रस्त स्थानमा अस्थायी बाटो निर्माण गरिएको बताउँदै प्रजिअ चिलुवालले पूर्नःनिर्माणका लागि भने समय लाग्ने बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*