हेटौंडा १ चौकीटोलस्थित खसी बजार प्रयोगविहीन
२३ असोज, हेटौँडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१ चौकीटोलस्थित खसी बजार प्रयोगविहीन बनेको छ ।
बागमती प्रदेश सरकारको १५ लाख रुपैयाँ लगानीमा निर्माण गरिएको खसी बजार प्रयोगविहीन बनेको हो । खसीबोका व्यापारलाई व्यवस्थित गर्न भन्दै झोलुङ्गे पुलमुनी खसी बोका सुरक्षित राख्न मिल्ने पूर्वाधार सहितको भवन निर्माण गरिएको थियो ।
हेटौंडा उपमहानगरपालिकालाई व्यवस्थापनको जिम्मा दिइएको उक्त खसी बजार भौगोलिक हिसाबले असुरक्षित र व्यवसायिक दृष्टिकोणले समेत अपायक रहेको भन्दै व्यवसायी जान मानेन् ।

गत वर्ष नै उद्घाटन गरिएको खसीबजार केही हप्ता मात्रै सञ्चालनमा आएको थियो । खसी बजारसम्मको पहूँचमार्ग समेत अप्ठ्यारो रहेको व्यवसायीको गुनासो छ । दशैं लगत्तै खसी बोका व्यवसायी तथा ग्राहकलाई सहज हुनेगरी व्यवस्थापन मिलाइने हेटौंडा उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेले जानकारी दिनुभयो ।
अहिले हेटौंडा १ सब्जी मन्डी पछाडीको नदी उकास क्षेत्रमा खसी बोका बिक्रि हुँदै आएको छ । खसीबोका बिक्री बापत हेटौंडा उपमहानगरपालिकाले प्रतिगोटा ५० रुपैयाँ शुल्क लिदै आएको छ ।














