आलुको उचित मुल्य नपाउँदा थाहाका किसान चिन्तित
१३ जेठ, हेटौँडा । मकवानपुरको थाहा नगरपालिकाका किसान आलुको उचित मूल्य नपाउँदा चिन्तित बनेका छन् ।
उत्पादन लागत बढ्दो अवस्थामा रहे पनि आलुको मूल्य अत्यन्त न्यून भएपछि किसान लगानीसमेत उठाउन नसक्ने अवस्थामा पुगेका हुन् । बीउ, मल, ज्याला तथा ढुवानी खर्च निरन्तर बढिरहेका बेला यस वर्ष किसानले आलुको मूल्य प्रतिकिलो १० देखि १२ रुपैयाँ मात्र पाएका छन् । व्यापारीले खेतमै पुगेर सेतो आलु प्रतिकिलो १० रुपैयाँ र रातो आलु प्रतिकिलो १२ रुपैयाँमा खरिद गरिरहेका छन् ।
गत वर्ष किसानले खेतबाटै प्रतिकिलो २० देखि २५ रुपैयाँसम्म बिक्री गरेका थिए । यस वर्ष आलु बढ्ने समयमा परेको वर्षासँगै डढुवा रोग फैलिएकाले किसानले समयभन्दा अगावै आलु खन्न बाध्य भएका छन् । उत्पादनसमेत घटेका कारण किसान थप मारमा परेका छन् ।

थाहा नगरपालिकामा करिब ५ सय ८० हेक्टर क्षेत्रफलमा आलु खेती हुँदै आएको कृषि शाखा प्रमुख बालकुमारी भट्टराईले बताउनुभयो । यहाँ वार्षिक करिब १२ हजार ३ सय मेट्रिक टन आलु उत्पादन हुने गरेको तथ्यांक छ । प्रति हेक्टर आलुको उत्पादकत्व २१ दशमलव २ मेट्रिक टन रहेको छ ।
चालू आर्थिक वषृमा औद्योगिक प्रयोजनका लागि व्यवसायिक आलु उत्पादन कार्यक्रम अन्तर्गत संघीय सरकारको सशर्त अनुदानमा नगरपालिकाले १० हजार किलो आलुको बीउ किसानलाई वितरण गरेको थियो ।

समयमै कोल्ड स्टोर सञ्चालनमा आउन नसक्दा किसानले उत्पादन भण्डारण गर्न नपाई खेतबाटै सस्तो मूल्यमा बेच्नुपर्ने बाध्यता रहेको बताएका छन् । यस वर्ष भारतीय आलु सस्तो मूल्यमा बजारमा भित्रिएका कारण पनि स्थानीय आलुको मूल्य घटेको किसानहरूको भनाइ छ । थाहा नगरपालिकाको दामन, पालुङ, बज्रवाराही र चित्लाङ क्षेत्रमा विशेष गरि व्इवसायिक रुपमा आलु लगाउने गएिको छ ।
थाहा क्षेत्रमा उत्पादन हुने आलु काठमाडौं, पोखरा, हेटौंडा, बुटवल, भरतपुरलगायत विभिन्न सहरमा बिक्री हुँदै आएको छ ।














