अध्यक्षले मनोमानी गरेको भन्दै बागमती गाउँपालिकामा उपाध्यक्षद्वारा गाउँसभा बहिष्कार
१० असार, हेटौँडा । बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानले एकलौटी ढंगले नीति तथा कार्यक्रम ल्याएको भन्दै नेपाली कांग्रेस र नेकपा एमालेका जनप्रतिनिधिहरुले गाउँसभा बहिष्कार गरेका छन् ।
गाउँपालिका उपाध्यक्षसमेत रहेका नेपाली कांग्रेस नेता फणिन्द्र तिमल्सिना, वडा नम्बर ६ का अध्यक्ष टेकबहादुर डिमडुङ, वडा नम्बर ७ का अध्यक्ष उत्तरबहादुर भोलन, वडा नम्बर ८ का अध्यक्ष इन्द्रमणि तिमल्सिना (केशव), वडा नम्बर ९ का अध्यक्ष पूर्णराम घलान र कार्यपालिका सदस्य डम्बरबहादुर विकले गाउँसभा बहिस्कार गरेका छन् । बहिष्कार पश्चात् सोमबार दिउँसो पत्रकार सम्मेलन गर्दै गाउँपालिकाका उपाध्यक्ष तिमल्सिनाले अध्यक्षले कार्यकर्ता मुखी कार्यक्रम ल्याएर जनमतको उपेक्षा गरेको आरोप लगाउनुभयो। गाउँसभाको बहिष्कार आफुहरुको सांकेतिक विरोध भएको उहाँको भनाई छ । उपाध्यक्ष तिमल्सिनाले गाउँपालिकामा विगतमा भएका अनियमितताहरुको पनि सुक्ष्म ढंगले विश्लेषण गर्ने बताउनुभयो ।
उपाध्यक्ष तिमल्सिनाले प्रत्येक वडामा सिलिङ बजेटको व्यवस्थापन गर्नुपर्ने, उपाध्यक्ष र वडाध्यक्षको हक अधिकारमा हस्तक्षेप गर्न नहुने जस्ता माग आफुहरुको रहेको बताउनुभयो ।
उनीहरुले टाउकोमा कालोपट्टी बाँधेर गाउँपालिका कार्यालय अगाडि नाराबाजी गर्दै गाउँसभा बहिस्कार गरेका हुन् ।














