अविरल वर्षाका कारण अवरुद्ध काठमाडौं र हेटौंडा जोड्ने छोटो दूरीका सडक खुलाउने कार्य जारी
१५ असोज, हेटौँडा । अविरल वर्षाका कारण अवरुद्ध संघीय राजधानी काठमाडौं र प्रदेश राजधानी हेटौंडा जोड्ने छोटो दूरीका सडक खुलाउने कार्य धमाधम भइरहेको छ ।
बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको यातायात पूर्वाधार निर्देशनालयले विभिन्न निकायसँगको समन्वयमा अवरुद्ध बनेको सडक खुलाउन पहल गरिरहेको छ । हेटौंडा कुलेखानी–फाखेल खण्डका विभिन्न स्थानमा गएको पहिरो हटाउने कार्य भैरहेको छ ।
यस सडक खण्डको सबैभन्दा ठूलो पहिरो गएको स्थान भीमफेदी गाउँपालिका–४ रातोमाटेको पहिरो दुई वटा स्काभेटरको सहायताले हटाउने कार्य भैरहेको निर्देशनालयका इन्जिनियर अभिसेक मरासनीले बताउनुभयो । मौसमले साथ दिएमा बुधबारसम्म एकतर्फि यातायात चलाउन मिल्ने गरि पहिरो पन्छाएर सकिने उहाँले जानकारी दिनुभयो ।

बाटो अवरुद्ध हुँदा इन्द्रसरोवर, भीमफेदी लगायतका स्थानीय हेटौंडा बजार आउन घन्टौं हिँड्न बाँध्य भएका छन् । पैदल हिँड्ने बाटो समेत जोखिम मोलेरै खोला र भीरको बाटो हिँड्नुपर्ने अवस्था रहेको छ । तरकारी पकेट क्षेत्र मानिने त्यस स्थानका उत्पादन समेत कुहिने अवस्था आएको किसानले बताएका छन् ।

पहिरोले सिन्धुली काठमाडौं जोड्ने विपी राजमार्ग बन्द हुँदा कटारी, सिन्धुली, सर्लाहीका सुमो, हाइस लगायतका साना सवारी समेत त्रिभुवन राजपथबाट आवत जावत गर्ने गरेका छन् ।














