असंलग्न परराष्ट्र नीतिमा नेपाल अडिग रहेको छः प्रधानमन्त्री दाहाल
७ माघ, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले असंलग्न राष्ट्रहरुको १९ औं शिखर सम्मेलनले अन्तिम दस्ताबेज (फाइनल डकुमेण्ट) कम्पाला घोषणा पत्र पारित गरेको बताउनुभएको छ ।
तीन दिने युगाण्डा भ्रमण सकेर स्वदेश फर्किनुभएका प्रधानमन्त्री दाहालले विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा सो बारेमा जानकारी गराउनुभएको हो । उहाँले सम्मेलनले प्यालेस्टाइन सम्बन्धी घोषणा पत्र पारित गरेको पनि बताउनु भयो । उहाँले कम्पाला घोषणा पत्रले अन्तर्राष्ट्रिय शान्ति, स्थिरता, संयुक्त राष्ट्रसंघको सुदृढीकरण, दिगो विकासका लक्ष्य हासिल गर्ने जस्ता लक्ष्यहरुमा जोड दिइएको बताउनु भयो । प्रधानमन्त्री दाहालले असंलग्न आन्दोलनको सान्दर्भिकताबारे केही प्रश्न उत्पन्न भएपनि असमानता, नव उपनिवेशवाद, भूराजनीतिक द्वन्द्व, जस्ता समस्यायुक्त वर्तमान विश्वमा असंलग्न आन्दोलनको ठूलो भुमिका रहेको कुरामा विमति हुन नसक्ने बताउनु भयो । प्रधानमन्त्री दाहालले विश्वका सबै मानव समुदायले समृद्धि प्राप्त गरी गरिमायुक्त जीवनयापन गर्ने कार्य सम्पन्न गर्न असंलग्न आन्दोलनको महत्व अझै बढेको जिकिर गर्नुभयो ।

प्रधानमन्त्री दाहालले एक चीन नीति मानि सकेपछि ताइवान स्वतन्त्र हुनुपर्छ भन्ने पक्षमा नेपाल नरहेको स्पष्ट पार्नुभयो । उहाँले ताइवानको बारेमा नेपालको शुरु देखिकै नीति चीनकै अंग हो भन्ने रहेको बताउनु भयो । उहाँले ताइवान चीनको हो भन्दैमा नेपालको असंलग्न परराष्ट्र नीति नडग्मगाउने दाबी गर्नुभयो । यसैगरी प्रधानमन्त्री दाहालले जागिर खाने नाममा देशको कानून उल्लंघन नगर्न अनुरोध समेत गर्नुभयो । उहाँले विगतमा सम्झौता भएका भारत र इंग्ल्याण्ड बाहेक अन्यत्र कतै पनि नेपाली युवाहरुलाई सेनामा भर्ती गर्न दिने प्रावधान नरहेको जिकिर गर्नुभयो ।
प्रधानमन्त्री दाहालले भ्रमणका क्रममा युगाण्डाका राष्ट्रपति, भारतीय विदेशमन्त्री लगायतका उच्च पदस्थ व्यक्तिहरुसँग भेट भएको पनि जानकारी गराउनुभयो ।














