अस्ताउँदो सूर्यलाई अर्घ दिएर छठ पर्व मनाईयो

संवाददाता
३ मंसिर २०८०, आईतवार १८:३८

३ मंसिर, हेटौँडा । हेटौँडामा अस्ताउँदो सूर्यलाई अर्घ दिएर छठ पर्व मनाइएको छ ।
सूर्यको आराधना र उपासना गरी मनाइने छठ पर्वको हेटौँडामा रौनक छाएको छ । छठ पर्वको मूख्य दिन आज छठमा व्रत बसेका श्रद्धालुहरू हेटौँडा १ स्थित प्राप्ति रहेको पूजास्थलमा भेला भएका थिए । छठ पर्वको रौनक हेर्न भक्तजनहरूको समेत राप्ती तटमा भिड बढेको छ भने राप्ती तट भक्तजन र पूजा सामग्रीले भरिभराउ भएको थियो । केही समय अघि मधेशी समुदायले मात्रै मनाउने छठ पर्व अहिले सबैको साझा पर्वको रुपमा विकास हुँदै गएको छ । छठको लागि यस वर्ष करीब ६ सय ५० फिट लामो छठघाट निर्माण गरिएको थियो । प्रातःकालीन अर्घका लागि केही व्रतालुहरू आज रातभर पानीमा बसेर सूर्य नउदाउन्जेल सम्म पूजा गर्दछन् भने कोही प्रसाद चढाएर पानीबाट निस्कन्छन् । आज जलाशय क्षेत्रमा रातभर भजन कीर्तन र नाचगान हुने गर्दछ । छठ पर्वमा षष्ठी भगवतीको पूजा अर्चना गरी पुत्र, पति र परिवारको कल्याणको कामना गर्ने गरिन्छ । छठ माताको पूजाआजा गरेपछि भाकल गर्नेहरूको सबै मनोकामना पूरा हुने धार्मिक विश्वास छ । यो व्रत गर्नाले चर्मरोग छिटो निको हुने पनि विश्वास गरिन्छ । केही भक्तजन घरबाट साँझ र बिहान घर्सिंदै नदी वा पोखरीको किनारमा गई स्नान गरी व्रत पूरा गर्छन् । कतिले मनोकामना पूरा भएमा नाच नचाउने, पोखरीमा माटोको हात्ती राख्ने तथा दियो बाल्ने जस्ता कार्य पनि गर्छन् ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*