आगलागीबाट हुन सक्ने क्षती न्यूनीकरणका लागि मकवानपुरमा कृत्रिम अभ्यास
७ वैशाख, हेटौँडा । आगलागीबाट हुन सक्ने सम्भावित जनधनको क्षती न्यूनीकरणका लागि मकवानपुरमा कृत्रिम अभ्यास गरिएको छ ।
सशस्त्र प्रहरी बल १४ नम्बर गण हेड क्वार्टर मकवानपुरकोे आयोजनामा नेपाल आर्मी, सशस्त्र प्रहरी, नेपाल प्रहरी, नगर प्रह्री र रेडक्रस सोसाईटीको सहभागितामा आगलागी नियन्त्रण सम्बन्धि सेमेलुसन अभ्यास गरिएको हो । हेटौंडा कपडा उद्योग परिसर स्थित बन्द अवस्थामा रहेको ह्यारिटेज बोर्डिङ स्कुल भवनमा आगलागीको कृत्रिम घटना गराएर आगलागी नियन्त्रण, उद्धार तथा घाइतेहरुको उपचारको व्यवस्था कसरी गरिन्छ भन्ने बारेमा कृत्रिम अभ्यास गराइएको थियो ।
अभ्यासका क्रममा विपद्को समयमा सुरक्षा निकाय, जनप्रतिनिधि लगायतको भूमिकालाई समेत नाटकीय रुपमा प्रस्तुत गरिएको थियो । आगोलागी भईहालेमा यसबाट हुने क्षती कम गर्न, विपद्को समयमा समन्वय सहकार्य कसरी गर्ने भन्ने बारेमा जानकारी दिन र जनचेतना अभिवृद्धिका लागि कृत्रिम अभ्यास गरिएको शसस्त्र प्रहरी बल १४ नम्बर गण हेड क्वार्टर मकवानपुरका प्रमुख ज्ञान प्रसाद भुर्तेलले बताउनुभयो ।














