आगामी डेढ वर्षभित्र देशलाई पूर्ण रुपमा विद्युतीकरण घोषणा गर्नेछौँः प्रधानमन्त्री
१६ वैशाख, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले ९८ प्रतिशत जनसंख्यामा विद्युतको पहुँच पुगेको बताउनुभएको छ ।
आईतवार काठमाडौंको चन्द्रागिरीमा मस्र्याङ्दी—काठमाडौं २२० केभी प्रशारण लाइन तथा मातातीर्थ २२० केभी सवस्टेशनको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले आगामी एकदेखि डेढ वर्षभित्र देशलाई पूर्ण रुपमा विद्युतीकरण घोषणा गर्नेगरी सम्पूर्ण तयारी भइरहेको बताउनुभयो । उहाँले उत्पादित जलविद्युत देशभित्र नै खपत गर्नेगरी विद्युत खपत वृद्धि सम्बन्धी कार्ययोजना मन्त्रीपरिषद्बाट पारित गराएर कार्यान्वयनमा ल्याइरहेको बताउनुभयो ।
उहाँले विद्युत खपतको महत्वपूर्ण मानिएको यातायात क्षेत्रमा अहिले विद्युतीय सवारीसाधन प्रयोग देशभर बिस्तार भइरहेको र पेट्रोलियम पदार्थको आयतमा पनि गिरावट ल्याएको उल्लेख गर्नुभयो । प्रधानमन्त्री दाहालले जलवायु परिवर्तनको नकारात्मक प्रभावका कारण नेपालका सुन्दर हिमालहरु प्रभावित भएको बताउनु भयो ।
यसैगरी उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले जलविद्युत क्षेत्र नेपालको आर्थिक क्षेत्रको रुपमा स्थापित भइरहेको बताउनुभयो । उहाँले सरकारले जलविद्युत उत्पादन, प्रशारणको, वितरण प्रणालीको सुधारको एउटा समग्र योजनाका साथमा काम गरिरहेको पनि दाबी गर्नुभयो ।
मन्त्री बस्नेतले विद्युतमा लगानी गर्नको निम्ति थप अनुकुलनको वातावरण निर्माण भइरहेको बताउनु भयो ।














