आगामी दिनमा भ्रष्टाचारका काण्डहरु सुन्न पर्दैनः प्रधानमन्त्री ओली
२९ भाद्र, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारलाई पूर्णरुपमा नियन्त्रण गर्ने बताउनुभएको छ ।
शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आगामी दिनमा भ्रष्टाचारका काण्डहरु सुन्न नपर्ने बताउनुभएको हो । उहाँले आफूले नेपाललाई अब नयाँ ढंगले अघि बढाउन चाहेको पनि बताउनु भयो ।
उहाँले सरकारबाट दिने सेवाहरु उत्साहका साथ दिइने पनि प्रतिवद्धता जनाउनु भयो । उहाँले फाइल रोकेर एक ठाउँमा बस्नेकुरा अब सह्य नहुने भन्दै कुन ठाउँमा फाइल गएर अड्कियो भन्नेकुरा प्रधानमन्त्री कार्यालयले थाहा पाउने बताउनु भयो ।
प्रधानमन्त्री ओलीले त्यसका लागि फाइल ट्रयाकिङ सिस्टम अपडेट गरेको र फाइलमा क्युआर कोर्ड ट्रयाकिङ राखेको बताउनु भयो । उहाँले परिमार्जित डिजिटल फ्रेमवर्क डिजिटल नेपालको परिकल्पना अघि बढाइएको बताउनु भयो ।
प्रधानमन्त्री ओलीले सरकारको तर्फबाट पाउने सुविधामा अब घुस खुवाउनु नपर्ने, काम गरेबापत कुनै नजाराना चढाउनु नपर्ने र कतै भन्सुन गर्न जानु नपर्ने बताउनु भयो ।














