आठ सामुदायिक बिद्यालय सहित ६६ विद्यार्थीलाई सम्मान
१९ श्रावण, हेटौँडा । २०८० सालको एसइइ परिक्षामा उत्कृष्ठ नतिजा सहित उर्तिण हुने हेटौंडा उपमहानगरपालिकामा रहेका सामुदायिक बिद्यालय तथा बिद्यार्थीलाई सम्मान गरिएको छ ।
नगर स्तरीय शैक्षिक समन्वय समितिले शनिवार हेटौंडा उपमहानगरपालिकाको सभाहलमा आयोजना गरेको उपमहानगरपालिका भित्र सञ्चालित सामुदायिक बिद्यालयहरु मध्ये एसइइ २०८० मा उत्कृष्ट नतिजा ल्याउने ८ बिद्यालय सहित ६६ विद्यार्थीलाई सम्मान गरेको हो । नगरभित्र रहेका सामुदायिक बिद्यालयमा अध्यापन गरी एसईई परीक्षामा ३.६ जिपीए ल्याउने सिद्धार्थ, आधुनिक, भुटनदेबी, प्रगति, महेन्द्र किरण, जनप्रीय, बंशगोपाल माध्यमिक बिद्यालयमा अध्यापन गर्ने बिद्यार्थीहरुलाई नगर प्रमुख मीनाकुमारी लामाले सम्मान गर्नुभएको हो । सम्मान कार्यक्रममा नगर प्रमुख लामाले शिक्षा प्रणालीमा सुधार गर्न जरुरी रहेको बताउनुभयो ।

नगर स्तरीय शैक्षिक समन्वय समितिका अध्यक्ष भोगेन्द्र लुइटेलको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ का अध्यक्ष एवम् समाजिक बिकास समितिका संयोजक रामकृष्ण कोईराला, नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुरका अध्यक्ष श्रीराम दाहाल, नेपाल शिक्षक संघ मकवानपुरका अध्यक्ष गणेश हुमागाई लगाएतकाले मन्तव्य व्यक्त गरेका थिए । समन्यव समितिले नगरमा रहेका सामुदायिक बिद्यालयका शिक्षकहरुलाई शैक्षिक सुधारका तालिम सहित नगरमा सञ्चालन हुने आधारभुत तथा निम्न माध्यमिक तहको परिक्षका लागि प्रश्नपत्र तयार पार्ने गर्दछ । प्रश्नपत्र तयार बापत आधारभुत तहमा ३० रुपियाँ र निम्न माध्यमिक तहमा ४५ रुपियाँ शुल्क लिने गरेको कार्यक्रममा जानकारी दिइएको थियो ।














