आयोजनाहरुलाई सुरु गरेर छाड्ने प्रवृत्तिलाई अन्त्य गर्नुपर्छः प्रधानमन्त्री ओली
२१ श्रावण, हेटौँडा । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माणाधिन आयोजनाहरुको काम सम्पन्न हुँदा मूलुक समृद्ध हुने बताउनुभएको छ ।
काठमाडौ.–तराई–मधेश द्रुतमार्ग (फास्ट ट्रयाक) अन्तर्गतको धेद्रे सुरुङ ‘ब्रेक थ्रु कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आयोजनाहरुलाई सुरु गरेर छाड्ने प्रवृत्तिलाई अन्त्य गर्नुपर्ने बताउनुभयो । नयाँ नयाँ योजना थाल्नुभन्दा पनि सुरु गरिएका आयोजनाहरु सम्पन्न गर्नतर्फ लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले नेपालमा विकास जुन गतिमा हुनुपर्ने हो त्यो गतिमा हुन नसकेको समेत जिकिर गर्नुभयो । प्रधानमन्त्री ओलीले आधुनिक प्रविधिको उपयोग र प्रविधि हस्तान्तरण गरी विकासको गतिलाई बढाउनुपर्ने बताउनुभयो ।
उहाँले फास्ट ट्रयाकले राष्ट्रको अर्थतन्त्रमा महत्वपूर्ण भुमिका खेल्ने समेत उल्लेख गर्नुभयो । प्रधानमन्त्री ओलीले फास्ट ट्रयाक निर्माणमा आउने समस्या समाधानका लागि सरकार प्रतिबद्ध भएको दाबी गर्नुभयो । फास्ट ट्रयाक निर्माणको कार्यलाई निर्धारित समय भित्रै सक्नुको विकल्प नरहेको समेत उहाँको भनाई छ ।

यसैगरी कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानसेनापति प्रभुराम शर्माले फास्ट ट्रयाक निर्माणमा ३६ प्रतिशत प्रगति भएको जानकारी दिनुभयो । उहाँले विगतमा कोरोना महामारी लगायतको कारणले निर्माण कार्यमा केही ढिलासुस्ती भएको बताउनुभयो । यद्यपी आगामी २०८३ सालभित्र द्रुतमार्ग निर्माण सम्पन्न गर्ने उहाँले घोषणा समेत गर्नुभयो । ललितपुरको बुङ्मती र खोकनामा जग्गा अधिग्रहणको काम राजनीतिले बिगारेको भन्दै प्रधानसेनापति शर्माले त्यसलाई राजनीतिले नै सपार्नुपर्ने बताउनुभयो ।

द्रूतमार्ग विसं २०८३ चैत मसान्तसम्ममा सम्पन्न गर्ने लक्ष्य रहेको आयोजना १३ प्योकजमा विभाजन गरी निर्माण भइरहेको छ । आयोजनाअन्तर्गत विभिन्न स्थानमा निर्माण हुने ८९ मध्ये ८५ पुल ठेक्का व्यवस्थापन भई कार्यान्वयनका चरणमा छन् । द्रूतमार्गमा १० दशमलव तीन सय नौ किमी लम्बाइका छ वटा सुरुङ बन्ने छन् । सो सडकमा विभिन्न स्थानमा १२ दशमलव आठ सय ८५ किमी लम्बाइका ८९ पुल निर्माण हुनेछन् ।















