आशा विशेष पाठशाला एवं पूर्नस्थापना केन्द्रको दोस्रो तला भवनको उद्घाटन
२७ भाद्र, हेटौँडा । बौद्धिक अपांगता भएका बालबालिका अध्ययन गराउँदै आएको आशा विशेष पाठशाला एवं पूर्नस्थापना केन्द्रको भवन उद्घाटन गरिएको छ ।
बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेको प्रमुख आतिथ्यतामा हेटौंडा ७ मा आशा फाउण्डेशनले सञ्चालन गरेको विद्यालयको नव निर्मित दोस्रो तला भवनको उद्घाटन गरिएको हो । कार्यक्रममा बोल्दै मन्त्री काफ्लेले बौद्धिक अपांगता भएका बालबालिकाको राज्यले लिनुपर्ने जिम्मेवारी एउटा संस्थाले लिएकोमा आभारी व्यक्त गर्नुभयो ।
आफूले बौद्धिक अपांगताका विषयमा यसै विद्यालयमा आएर बुझ्ने अवसर पाएको बताउँदै उहाँले बौद्धिक अपाङ्गता भएका बालबालिकाको संरक्षणमा राज्यले नीति नै ल्याएर अगाडी बढ्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
बौद्धिक अपांगता भएका बालबालिकाको उचित शिक्षा प्रदान गर्नका लागि पाठशाला सञ्चालनमा ल्याइएको आशा विशेष पाठशाला एवं पूर्नस्थापना केन्द्रकी सञ्चालिका आइना बार्का न्यौपानेले बताउनुभयो ।

१३ कोठे दोस्रो तला निर्माणका लागि ७० लाख लागत लागेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बालकृष्ण चौंलागाईले जानकारी दिनुभयो । भवन निर्माणका लागि हेटौडा उपमहानगरपालिकाबाट ५ लाख रुपैयाँ सहयोग र बाँकी रकम दाताको आर्थिक सहयोगबाट नै जुटाइएको उहाँले बताउनुभयो ।
हाल यस विद्यालयमा अटिजम, डाउन सिन्ड्रोम, सेरेब्रल पाल्सी लगायत बौद्धिक अपांगता भएका ७७ जना विद्यार्थी अध्ययनरत छन् । कार्यक्रममा ६ नम्बर वडा अध्यक्ष विष्णु बहादुर दाहाल, ७ नम्बर वडाका अध्यक्ष दामोदर गौतम, वडा सदस्यहरु लगायतको उपस्थिती थियो ।














