एएफसी च्यालेन्ज लिग प्लेअफका लागि चर्च ब्वाइजको तयारी अन्तिम चरणमा

संवाददाता
२५ श्रावण २०८१, शुक्रबार १८:०७

२५ श्रावण, काठमाडौँ । एएफसी च्यालेन्ज लिग प्लेअफका लागि नेपाली ए डिभिजन क्लब चर्च ब्वाइज युनाइटेडको तयारी अन्तिम चरणमा पुगेको क्लबले जनाएको छ ।
चर्च ब्वाईजले शुक्रबार पत्रकार सम्मेलन गर्दै च्यालेन्ज लिग प्लेअफको लागि टोली तयार रहेको जानकारी गराएको हो । क्लबका अध्यक्ष रुबेन राईले लामो समयपछि नेपालमा अन्तर्राष्ट्रियस्तरको खेल हुन लागेको भन्दै यसले दर्शकहरुको उपस्थिति उल्लेख्य रहने विश्वास व्यक्त गर्नुभयो । मुख्य प्रशिक्षक बालगोपाल महर्जनले क्लबको तयारी राम्रो भएको र त्यसमा आफू सन्तुष्ट रहेको बताउनुभयो । चर्च ब्वाइजले अनन्त तामाङको कप्तानीमा २३ सदस्यीय टोली घोषणा गरिसकेको छ ।
च्यालेन्ज लिग प्लेअफमा चार देशका लिग च्याम्पियनले खेल्दैछन् । नेपालको शहीद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च ब्वाइजले भूटानको लिग च्याम्पियन पारो एफसीसँग तथा किर्गिस्तानको लिग च्याम्पियन अब्दिस एटा कान्टले अफगानिस्तानी लिग च्याम्पियन क्लव अट्याक इनर्जीसँग खेल्ने तय छ । दुई विजेताले अघिल्लो चरणको यात्रा तय गर्नेछन् । अघिल्लो सिजनमा नेपालको क्लव मच्छिन्द्रले पारालाई हराउँदै दोस्रो चरणको यात्रा तय गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*