एन्टिबायोटिक औषधि प्रयोगमा सावधानी अपनाउन विज्ञहरुको आग्रह

संवाददाता
५ मंसिर २०८०, मंगलवार १८:१३

५ मंसिर, हेटौँडा । एन्टिबायोटिक औषधि प्रयोगमा सावधानी अपनाउन विज्ञहरुले आग्रह गरेका छन् ।
विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह अन्तर्गतको अन्तरक्रिया कार्यक्रममा सहभागीले चिकित्सकको सल्लाहबिना एन्टिबायोटिक प्रयोग नगर्न आग्रह गरेका हुन् । जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरको आयोजनामा भएको कार्यक्रममा एन्टिबायोटिकको प्रयोगमा सावधानी अपनाउनुपर्ने आवश्यकता स्वास्थ्यकर्मीले औंल्याएका हुन् । जथाभावी रुपमा एन्टिबायोटिकको प्रयोगका कारण मानिसमा एन्टि माइक्रोबायल रेसिडेन्स देखापरेको डाक्टर समिता पौडेलले जानकारी दिनुभयो । एन्टिबायोटिक, एन्टिभाइरस, एन्टिफंगल जस्ता औषधिको समुचित प्रयोग नहुँदा मानव स्वास्थ्यमा गम्भिर असर पार्ने एन्टिमाइक्रोबायल रेसिस्टेन्सको बृद्धि हुँदै गएको उहाँले बताउनुभयो । जथाभावी रुपमा औषधिको प्रयोग गर्दा पशुमा समेत एन्टि माइक्रोबियल रेसिस्टेन्स चूनौतीमा रुपमा देखा परेको पशु स्वास्थ्य विज्ञ डा.विमोचन पौडेलले बताउनुभयो । गाईभैसीमा दुध उत्पादन बढाउन देखि खसी बोका मोटो बनाउन सम्म औषधीको प्रयोग हुनुले स्वास्थ्य जोखिम बढेकोमा उहाँले चिन्ता व्यक्त गर्नुभयो । स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख कृष्ण बहादुर मिजारको अध्यक्षतामा भएको कार्यक्रममा सञ्चारकर्मी, स्वास्थ्यकर्मी, औषधी व्यवसायी लगायत सरोकारवाला संघ संस्थाका प्रतिनिधिको उपस्थिती थियो । हरेक वर्ष नोभेम्बर १८ देखि २४ सम्म मनाइने विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह यस वर्ष “सबै क्षेत्र जुटौं, प्रतिजैविक प्रतिरोध रोकथाम गरौं, एन्टी माइक्रोबियलको प्रयोग सावधानी पूर्वक गरौँ’ भन्ने नाराका साथ मनाइदै छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*