एमाले मकवानपुरको जिल्ला अधिवेशन यही जेठ १८ र १९ गते हुने
१५ जेठ, हेटौँडा । नेकपा एमाले मकवानपुरको जिल्ला अधिवेशन यही जेठ १८ र १९ गते हेटौंडामा हुने भएको छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा १२ औं अधिवेशन उद्घाटन हुने मंगलबार आयोजित पत्रकार सम्मेलन मार्फत् जानकारी गराइएको छ । अधिवेशनका लागि मकवानपुरको १० वटै स्थानीय तहको १ सय २ वटा वडाबाट चयन भएका ७ सय ६९ जना प्रतिनिधिहरुको सहभागिता रहने एमाले जिल्ला अध्यक्ष एकालाल श्रेष्ठले जानकारी दिनुभयो । अधिवेशनको बन्द सत्रले नेतृत्व समेत चयन गर्नेछ । अधिवेशनपूर्व जेठ १७ गते उपमहानगर क्षेत्रमा वृहत् मोटरसाईकल ¥याली आयोजना गरिने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
सम्मेलनलाई सफलतापूर्वक सम्पन्न गराउन २ सय जना स्वयंसेवक परिचालन गरिने भएको छ । अधिवेशनका लागि विभिन्न १२ वटा समितिहरु बनाई तयारीका लागि जिम्मेवारी बाँडफाँड गरिएको छ । मकवानपुर जिल्लामा नेकपा एमालेका ११ हजार ६ सय ८४ जना पार्टि सदस्य रहेका छन् । पत्रकार सम्मेलनमा एमाले पार्टी जिल्ला अध्यक्ष एकालाल श्रेष्ठ, पोलिटव्युरो सदस्य एवं मकवानपुर जिल्ला ईन्चार्ज देवी ज्ञवाली, एमाले केन्द्रीय सदस्य रामेश्वर राना लगाएतको उपस्थिती थियो ।














