कपडा उद्योग परिसरमा विपद प्रतिकार्यको लागि कृत्रिम अभ्यास
२५ जेठ, हेटौँडा । हेटौंडामा प्रदेश स्तरीय विपद् प्रतिकार्यका लागि हात्तेमालो–६ नामक कृत्रिम अभ्यास गरिएको छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा विपद् जोखिम न्यूनिकरणका लागि कृत्रिम अभ्यास गरिएको हो । हेटौंडा–८ स्थित बन्द अवस्थामा रहेको कपडा उद्योग परिसरको क्षेत्रमा भुकम्प र आगलागी सम्बन्धि कृत्रिम घटना घटाएर अभ्यास गरिएको हो । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्काउट, रेडक्रस, हेटौंडा उपमहानगरपालिकाको वारुणयन्त्र टिमले संयुक्त रुपमा भुकम्प र आगोलागीको कृतिम अभ्यास गरेका थिए । उनीहरुले सम्भावित दुर्घटना, खोज, सुरक्षित उद्धार प्रक्रिया, प्राथमिक उपचार, जनप्रतिनिधि तथा सरोकारवाला निकायको भूमिकाका बारेमा डेमो मार्फत् नाटकीय रुपमा प्रस्तुत गरेका थिए । डेमो मार्फत् विपद्पछिको अवस्था, एकद्धार प्रणालीबाट राहत वितरण र पुर्नस्थापनाका प्रक्रियाको बारेमा समेत जानकारी गराइएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै आन्तरिक मामिला मन्त्री गंगानारायण श्रेष्ठले विपद् न्यूनिकरण गर्नका लागि प्रदेश सरकारले विपद् सुरक्षा संस्कृति निर्माण गर्न लागेको बताउनुभयो । आगामी आर्थिक वर्षको बजेटमा विशेष कार्यक्रम निर्माण गरेर प्रदेशका १३ जिल्लाका १३ वटा विद्यालयमा सुरक्षा संस्कृति अध्ययन गराउने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो ।

मन्त्री श्रेष्ठले प्रदेशका ११ पालिकामा सञ्चालनमा रहेको विपद् स्वयंसेवक निर्माण र परिचालन कार्यक्रमलाई अब अभियानात्मक रुपमा बढाएर टोलटोल सम्म लैजानुपर्ने आवश्यकता औंल्याउनुभयो । मन्त्री श्रेष्ठले तीन करोड रुपैयाँ बराबरको विपद व्यवस्थापन सामग्री खरीद प्रक्रिया अन्तिम चरणमा पुगेको बताउनुभयो । साम्रगीहरु विपद्को समयमा आवश्यकता अनुसार सुरक्षा निकाय मार्फत् प्रभावकारी ढंगले परिचालन गरिने मन्त्री श्रेष्ठले जानकारी दिनुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवाल, बागमती प्रदेशका तीनवटै सुरक्षा निकायका प्रमुख लगायतले मन्तव्य राखेका थिए ।














