काभा भलिबलः सेमिफाइनलमा नेपालको प्रतिद्वन्द्वी इरान

संवाददाता
२१ श्रावण २०८१, सोमबार २०:१३

२१ श्रावण, काठमाडौँ । काभा महिला भलिबल लिगमा माल्दिभ्सलाई ३–० को सोझो सेटमा हराउँदै नेपाल समूह उपविजेता बनेको छ ।
काठमाण्डौको त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज भएको दोस्रो खेलमा नेपालले माल्दिभ्सलाई पहिलो सेटमा २५–८, दोस्रो सेटमा २५–१९ र तेस्रो सेटमा २५–१८ ले पराजित गरेको हो । यो जीतसँगै नेपालले ४ खेलमा ९ अङ्क जोडेको छ । अब नेपालले सेमिफाइनलमा लिगको तेस्रो स्थानमा रहेको इरानसँग खेल्नेछ ।
यस्तै सोमबार नै भएको पहिलो खेलमा श्रीलङ्कालाई ३–० को सोझो सेटमा हराउँदै भारत समूह विजेता बनेको छ । भारतले सेमिफाइनलमा लिगको चौथो स्थानको श्रीलङ्कासँग खेल्नेछ ।
पहिलो सेमिफाइनलमा मंगलबार दिउँसो ३ बजे भारत र श्रीलङ्का तथा दोस्रो सेमिफाइनलमा मंगलबार बेलुकी सवा ५ बजे नेपाल र इरान खेल्नेछन् । काभा महिला भलिबल लिगको फाइनल खेल पर्सि बुधवार बेलुकी ५ बजे शुरू हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*