काभा महिला नेसन्स भलिबल लिगको उपाधि जित्ने नेपालको लक्ष्य
१४ श्रावण, काठमाडौँ । नेपालले घरेलु मैदानमा आगामी बिहीवारदेखि शुरु हुने काभा महिला नेसन्स लिगको उपाधि जित्ने लक्ष्य लिएको छ ।
उपाधि जित्नका लागि नेपालले झन्डै दुई महिनादेखि तयारी समेत गरेको छ । प्रशिक्षणसँगै नेपालले विश्व भलिबलमा नै बलियो टोली रसियासँग दुई मैत्रीपूर्ण खेलसमेत खेलेको छ । टोलीकी कप्तान अरुणा शाहीले काभा महिला नेसन्स लिगको तयारी धेरै राम्रो भएको उल्लेख गर्दै उपाधि जित्ने लक्ष्यसहित खेल्ने बताउनुभको छ । उहाँले उपाधि जित्ने लक्ष्यसहित मिहिनित पनि गरेको बताइन् । यद्यपि प्रतिद्वन्द्वी पनि बलिया र अनुभवी रहेकाले लक्ष्य सहज नरहेको पनि उहाँले स्वीकार गर्नुभयो । अहिले काभामा भएका टोली पनि बलिया रहेकाले उनीहरू खेल्ने सहज नहुने कप्तान अरुणाको भनाई छ ।

यसैगरी टोलीका प्रशिक्षक जगदीश भट्टले काभा महिला नेसन्स लिगको पूर्वसन्ध्यामा रसिया जस्तो टोलीसँग खेल्न पाउनु ठूलो अवसर भएको प्रतिक्रिया दिनुभयो । प्रशिक्षक भट्टले काभा महिला भलिबलमा नेपालले पाएको सफलतालाई जोगाइराख्न चुनौती रहेको समेत बताउनु भयो । साथै उहाँले भारत, इरान र श्रीलंका नेपालभन्दा केही मात्र माथि रहे पनि जित सम्भव रहेको विश्वास व्यक्त गर्नुभयो ।
नेपालसहित पाँच राष्ट्र सहभागी हुने प्रतियोगिता साउन १७ देखि २३ गतेसम्म दशरथ रंगशालास्थित कभर्डहलमा चल्नेछ । नेपालसँगै इरान, भारत, श्रीलंका र माल्दिभ्सले प्रतियोगिता खेल्नेछन् ।














