कैलाश सिरोहिया पक्राउप्रति नेपाल मिडिया सोसाइटीको बिरोध
९ जेठ, काठमाडौँ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रक्राउ गरिएकोप्रति नेपाल मिडिया सोसाइटीले बिरोध जनाएको छ ।
बुधवार पत्रकार सम्मेलन गर्दै नेपाल मिडिया सोसाइटीले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई सरकारले पक्राउ गरेको भन्दै बिरोध जनाएको हो । सिरोहियालाई नागरिकता किर्तेको आरोपमा मंगलवार प्रहरीले पक्राउ गरी धनुषा पु¥याएको थियो । सोही विषयमा मिडिया सोसाइटीले पत्रकार सम्मेलन मार्फत धारणा सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा बोल्दै सोसाइटीका अध्यक्ष शुभशंकर कँडेलले सिरोहियाको रिहाइ नभएसम्म सोसाइटीले निरन्तर संघर्ष गर्ने बताउनु भयो । उहाँले आफूहरुले बोलेर र लेखेर संघर्ष गर्ने भन्दै मिडियालाई बचाउनका लागि संघर्षमा उत्रेको उल्लेख गर्नुभयो ।
अध्यक्ष कँडेलले सिरोहियालाई पक्राउ गरेर मिडियालाई तर्साउन खोजिएको बताउनुभयो । उहाँले सरकारले मिडियामाथि अधिनायकवादी तरिका अपनाएको र मिडियाको मुख बन्द गराउने खतरनाक प्रवृत्ति शुरु भएको उल्लेख गर्नुभयो ।
अध्यक्ष कँडेलले पूर्वप्रधानमन्त्रीहरुको समेत नागरिकताको प्रतिलिपि लिँदा विवरण फरक परेको हुनसक्ने भन्दै त्यसबारे पनि खोज्नुपर्ने बताउनुभयो ।














