खानेपानी व्यवस्थापन बोर्डको १२ औं वार्षिक उत्सव सम्पन्न
८ जेठ, हेटौँडा । हेटौंडा खानेपानी व्यवस्थापन बोर्डको १२ औँ वार्षिक उत्सव बिहीबार सम्पन्न भएको छ ।
हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यता एवम् बोर्डका अध्यक्ष प्रताप बिष्टको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख लामाले बोर्डले उपभोक्ताहरुलाई शुद्ध र सुरक्षित खानेपानी वितरण गर्दै आएको उल्लेख गर्नुभयो । उहाँले खानेपानीको सहज आपूर्तिमा उपमहानगर प्रतिबद्ध रहेको बताउनुभयो । नगर प्रमुख लामाले उपमहानगरमा खानेपानी सम्बन्धी समस्याको दीर्घकालिन रुपमा व्यवस्थापन गर्न संघ र प्रदेश सरकार संगको समन्वयमा काम भइरहेको जानकारी दिनुभयो ।
खानेपानी बोर्ड असफल हुँदा सरकार नै असफल हुने उहाँको भनाई छ । नगर प्रमुख लामाले जनताले स्थानीय सरकारको प्रत्यक्ष अनुभुति गर्ने काम गर्न खानेपानी बोर्डका कर्मचारीहरुलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा बोर्डका निमित्त कार्यकारी निर्देशक विष्णु प्रसाद सापकोटाले आर्थिक वर्ष २०८०÷८१ को प्रगति प्रतिवेदन प्रस्तुत गर्दै दैनिक सरदर पानी उत्पादन ६० लाख लिटरबाट बढेर हाल ३ करोड ७० लाख लिटर पुगेको जानकारी दिनुभयो । पानी चुहावट दर ३५ प्रतिशतबाट घटेर २० प्रतिशतमा झरेको छ । पूर्वाधार विस्तारतर्फ अघिल्लो वर्ष ८ हजार ५ सय ३७ वटा रहेका धाराहरूको संख्या हाल २८ हजार ४ सय ६३ पुगेको छ भने थप १९ हजार ९ सय २६ नयाँ धारा जडान गरिएको छ । नगर क्षेत्रमा बोर्डकै स्रोतबाट १५ वटा डिप ट्युवेल निर्माण गरिएको छ ।
साथै, मकवानपुरगढी, भीमफेदी र हेटौंडा–९ मा गरी थप ६÷७ स्थानमा समवेल निर्माण कार्य सम्पन्न गरिएको हो । कार्यक्रममा उत्कृष्ट कार्य सम्पादन गर्ने कर्मचारी, स्वयंसेवक, पत्रकार तथा विभिन्न योगदान पु¥याउने व्यक्तिहरूलाई प्रशंसा पत्र र नगदसहित सम्मान गरिएको थियो । कार्यक्रममा खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्रालयका सचिव मोहन कुमार शाक्य, मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ, हेटौंडा उपमहानगरपालिका–२, ६ र ११ का वडा अध्यक्षहरू, उद्योग वाणिज्य संघ मकवानपुरका अध्यक्ष प्रमोद सिंह राणाभाट, नेपाल पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष कृष्ण सारु मगर, जिल्ला उपाध्यक्ष धु्रव अधिकारी लगायतको उपस्थिति रहेको थियो ।














