खुलेआम तरिकाले धर्म परिवर्तनको गतिविधि हुँदैछः अध्यक्ष थापा

संवाददाता
१६ चैत्र २०८०, शुक्रबार ११:३३

१६ चैत्र, हेटौँडा । पूर्व उपप्रधानमन्त्री एवम् राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले पश्चिमा मुलुकहरुले देशमा धर्म परिवर्तनको डढेंलो लगाउन खोजेको बताउनुभएको छ ।
अध्यक्ष थापाले नेपालमा धार्मिक स्वतन्त्रता तथा नास्तिकता प्रवर्द्धन गर्न विदेशीहरुले लगानी गरेको आरोप लगाउनुभयो । शुक्रबार हेटौंडामा पत्रकार सम्मेलन गर्नुहुँदै उहाँले कतिपय गैरसरकारी संस्था र सञ्चारमाध्यमहरु समेत विदेशीको आर्थिक सहयोग लिएर धर्म संस्कृृतिलाई कमजोर बनाउने खेलमा लागेको बताउनुभयो । संविधानमा नै धर्म संस्कृतिको रक्षा गर्नु सरकारको कर्तव्य भएको उल्लेख भएता पनि खुलेआम तरिकाले धर्म परिवर्तनको गतिविधि हुँदा पनि सरकार मौन भएर बस्नु आश्चर्यजनक भएको अध्यक्ष थापाको भनाई छ । उहाँले हाल धर्म परिवर्तनको लागि भएको लगानीको विषयमा छानबीन गरेर सत्यतथ्य बाहिर ल्याउन पनि सरकारसंग माग गर्नुभयो ।
अध्यक्ष थापाले संघीय लोकतान्त्रिक गणतन्त्र भ्रष्ट तन्त्र र तस्करी तन्त्रमा रुपान्तरित भएको टिप्पणी गर्नुभयो । राजा सहितको प्रजातन्त्र र सनातन हिन्दु राष्ट्र नै अहिलेको व्यवस्थाको विकल्प भएको उहाँको भनाई छ । अध्यक्ष थापाले सुशासनको माध्यमबाटै राष्ट्रको आर्थिक समृद्धि हुन सक्ने जिकिर गर्नुभयो । वर्तमान व्यवस्थाको विकल्पको लागि सदन देखि सडक सम्म जनआन्दोलन गर्नुपर्ने उहाँको भनाई छ । अध्यक्ष थापाले समान विचारधारा भएका दलहरुले मोर्चाबन्दी गरेर मात्र भ्रष्ट व्यवस्थाको अन्त्य हुने बताउनुभयो ।
अध्यक्ष थापाले आफुहरुको एक्लो प्रयासले मात्र हेटौंडालाई प्रदेशको राजधानी तोकिएको दाबी गर्नुभयो । उहाँले राजधानी भएको ६ वर्ष हुँदा समेत हेटौंडा–काठमाडौं जोड्ने सडक निर्माण हुन नसक्नु दुर्भाग्यपूर्ण भएको बताउनुभयो । हेटौंडामा अझै पनि राजधानी सुहाउँदो संरचनाहरु बनाउन प्रदेश सरकार र स्थानीय सरकारले ध्यान नदिएको समेत अध्यक्ष थापाले उल्लेख गर्नुभयो ।
अध्यक्ष थापाले पार्टीका नेता कार्यकर्ताहरुलाई संगठन विस्तारमा लाग्न आग्रह समेत गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*