खेलकुद विकास समितिले महोत्सव स्थगित नगरे आन्दोलन गर्ने मउवा संघको चेतावनी
२७ मंसिर, हेटौँडा । मकवानपुर उद्योग बाणिज्य संघले पुस ५ गतेदेखि १७ गतेसम्म हुन लागेको बृहत् खेलकुद तथा व्यापार महोत्सवको विरोध गरेको छ ।
उद्योग बाणिज्य संघले बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै व्यापारिक महोत्सव स्थगित नगरे चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ । मकवानपुर जिल्ला खेलकुद विकास समितिले खेलकुद महोत्सवका नाममा घुमाउरो बाटोबाट व्यापार महोत्सव गर्न लागेको उद्योग वाणिज्य संघको ठहर छ । जिल्ला खेलकुद विकास समितिको नियमक निकाय प्रदेश खेलकुद विकास परिषद्ले समेत महोत्सव स्थगित गर्न भनिरहेको अवस्थामा आयोजकले व्यापारिक महोत्सवको प्रचारप्रसार गर्नु दुखद् रहेको मकवानपुर वाणिज्य संघका अध्यक्ष कृष्ण कुमार गुप्ताले बताउनुभयो । खेलकुद विकास समितिले अधिकार क्षेत्रभन्दा बाहिर गएर महोत्सव आयोजना गर्दा हेटौंडाका व्यवसायी मारमा पर्ने उहाँको भनाइ छ ।
कार्यक्रममा बोल्दै पूर्व अध्यक्ष अरुणराज सुमार्गीले मकवानपुर उद्योग वाणिज्य संघले गर्ने आन्दोलनका कार्यक्रममा पूर्व अध्यक्षहरुको पनि साथ रहेने धारणा राख्नुभयो ।














