गणतन्त्रात्मक व्यवस्था काण्डैकाण्डले घेरिएको छः सांसद् सिंह

संवाददाता
७ माघ २०८०, आईतवार २०:५९

७ माघ, हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद् दिपकबहादुर सिंहले जनताको अवस्था र राज्यको व्यवस्था दुबै ठिक नभएको बताउनुभएको छ ।
गणतन्त्रवादीहरुले अहिलेको व्यवस्थालाई लुटेर खाने धन्दा बनाएको उहाँको भनाई थियो । आइतबार हेटौंडामा पत्रकार सम्मेलन गर्नुहुँदै सांसद् सिंहले गणतन्त्रात्मक व्यवस्था काण्डैकाण्डले घेरिएको टिप्पणी गर्नुभयो । उहाँले नेपालको कानुनले नेता कार्यकर्तासंग पहुँच भएकाहरुलाई कारवाही गर्न नसकेको जिकिर गर्नुभयो । आफुहरुलाई गणतन्त्रवादी भन्नेहरु नै यो व्यवस्थाबाट वाक्क भइसकेको उहाँको भनाई थियो । सांसद् सिंहले राप्रपासंग एउटा राष्ट्रवादी विचार भएको दाबी गर्नुभयो । उहाँले विभिन्न जातजातमा भएको लडाईलाई पूर्व राजा ज्ञानेन्द्र शाह बाहेक अरुले रोक्न नसक्ने पनि दाबी गर्नुभयो ।
सांसद् सिंहले जनताले नै राजा खोजेको कुरा पुष्टि भइसकेको बताउनुभयो । आफुहरुले राजाको कार्यक्रममा उपस्थित हुन एक रुपैँया पनि कसैलाई नदिएको उहाँले स्पष्ट पार्नुभयो । सांसद् सिंहले प्रचारप्रसार सामग्रीमा प्रशासनले गरेको हस्तक्षेप प्रति असन्तुष्टि समेत व्यक्त गर्नुभयो । उहाँले ब्यानरमा राजा ज्ञानेन्द्र शाह लेखिएको भरमा अहिले सरकार अत्तालिएको जिकिर गर्नुभयो ।


सांसद् सिंहले देश बचाउन राप्रपा र राप्रपा नेपाल मिल्नुको विकल्प नभएको बताउनुभयो । देश र जनतालाई नै सर्वोपरी ठानेर आफुहरु अघि बढेको उहाँको भनाई थियो । सांसद् सिंहले ठुला दलका नेताहरु पाँचपाँच पटक सम्म प्रधानमन्त्री हुँदा पनि जनताले केही पाउन नसकेको बताउनुभयो । युवाहरुको बढ्दो विदेश पलायनलाई रोक्न वर्तमान नेतृत्व असक्षम भएको समेत उहाँले बताउनुभयो ।
सांसद् सिंहले जनताको हित हुने कुरामा आफुहरु चट्टानको साथ उभिने समेत बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*